चितवन । पहिरोका कारण अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। मंगलबार राति इच्छाकामना गाउँपालिकाको घोप्टेभिर, तुइनखोला र नाम्सीखोलामा पहिरो खसेपछि सडक बन्द भएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार, बिहान ६ बजेदेखि पहिरो पन्छाउने काम सुरु गरिएको थियो र बिहान ९:१० बजेदेखि सडक सञ्चालनमा आएको छ।
तीनवटा एक्साभेटरको प्रयोग गरी पहिरो हटाइएपछि रोकिएका सवारीसाधनहरू आ-आफ्नो गन्तव्यतर्फ लागेका छन्।