arrow

कर्णाली र नारायणगढ-मुग्लिन राजमार्ग पहिरोले अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १ बुधबार
mugling-landslide-road-stone-driver-dead.jpg

काठमाडौँ । लगातारको वर्षाका कारण देशभरका दुई मुख्य राजमार्गहरू पहिरोले अवरुद्ध भएका छन्। कर्णाली राजमार्ग र नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खसेपछि यातायात पूर्ण रूपमा बन्द भएको छ।

कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१, गगनेखोलामा पहिरो खसेर सडक अवरुद्ध भएको छ। यो क्षेत्रमा बारम्बार पहिरो खस्ने समस्या रहेको जुम्ला सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीले बताए। पहिरो पन्छाउन केही समय लाग्ने उनले जानकारी दिए।

मुग्लिन इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार, इच्छाकामना गाउँपालिका–५ को तुइनखोला मा मंगलबार साँझ ८:५० बजे पहिरो खसेर नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको हो। केही सवारीसाधनलाई पार गराएपछि फेरि पहिरो खसेकाले सडक पूर्ण रूपमा बन्द भएको छ।

अहिले एक वटा एक्साभेटर प्रयोग गरेर पहिरो हटाउने काम भइरहेको छ र थप उपकरणहरू लैजाने तयारी भइरहेको छ। प्रहरी निरीक्षक सिंहले पहिरो हटाउन कम्तीमा दुई घण्टा लाग्ने अनुमान गरेका छन्।

यसैगरी, पृथ्वी राजमार्गको घोप्टे भिरमा पनि पहिरोका कारण सडक एकतर्फी मात्र सञ्चालनमा छ। नारायणगढ-मुग्लिन सडककै नाम्सी खोलामा खसेको पहिरो भने पन्छाएर दुईतर्फी सडक सञ्चालन गरिएको छ। सडक अवरुद्ध हुँदा दुवै राजमार्गमा यात्रुहरू अलपत्र परेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ