arrow

जेन–जी आन्दोलनमा भागेका साढे २९ सय फर्के कारागार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २९ आइतबार
nakkhu-karagar.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । जेन–जी आन्दोलनको मौका छोपेर विभिन्न अपराधमा सजाय भोगिरहेका र आरोपमा हिरासतमा रहेका २९ सय भन्दा बढी कारागारमा फर्केका छन् । 

१३ हजार ७७९ व्यक्ति विभिन्न कारागारबाट भागेको सरकारी तथ्याङ्कले देखाएको छ । 

कारागार व्यवस्थापन विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीले १३ हजार ७७९ जना भागेको बताए । उनले विभिन्न २६ कारागार र बालसुधार गृहबाट उक्त संख्यामा भागेको बताए । 

जसमा कारागारबाट भाग्नेहरू १२ हजार ८१४ तथा बालसुधार गृहबाट ९६५ जना हुन् । अहिलेसम्म दुई हजार ९४५ को हाराहारीमा मात्र फर्केको तथ्याङ्क टिपोट गर्न सकिएको जानकारी दिए । 

शनिबार अपरान्ह ४ बजेसम्म दुई हजार ९४५ फर्केको भए पनि अझै केही संख्या जोड्न बाँकी रहेको हुनसक्ने उनले बताए । 

त्यसैगरी कारागारमा भएको झडपमा ३ जनाको, बालसुधार गृहमा ५ जनाको र एक जनाले आत्महत्या गरेकोसमेत गरी गरेर ११ जनाको मृत्यु भएको जोशीले बताए ।  

आत्महत्या गर्ने सप्तरीका हुन् । उनले जेलबाट भागेपछि सप्तरीको जंगलमा गएर आत्महत्या गरेको पाइएको सूचना अधिकारी जोशीले बताए । कारागार व्यवस्थापन विभागले कारागारबाट भागेकाहरूलाई तत्काल फर्कन सूचना जारी गरेसँगै फर्कने क्रम चलिरहेको उनले बताए । 

उनले जिल्ला प्रशासन कार्यालयले पनि समन्वय गरिरहेकाले फर्कनेको संख्या आइतबार दिउँसोसम्म उल्लेख्य मात्रामा बढ्ने बताए । 

सीमाबाट समेत केहीलाई पक्राउ गरिएको छ । यसबाट के खुल्छ भने धेरैको संख्यामा कैदीबन्दी भारतमा भागेका छन् । 

यसैबीच अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले भने भागेका १३ हजार ११४ जनाको तथ्याङ्क सार्वजनिक गरेको थियो । जसमा ११ हजार ८६८ जना अझै फरार रहेकोसमेत उल्लेख गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ