काठमाडौँ । अमेरिकी फुटबल क्लब इन्टर मियामीका स्ट्राइकर लुइस सुआरेजलाई ६ खेलको प्रतिबन्ध लागेको छ । लिग्स कपको आयोजक समितिले गत आइतबार (अगस्ट ३१ तारिखमा) सिएटल साउन्डर्स विरुद्धको फाइनलपछि भएको झगडामा सुआरेजले प्रतिद्वन्द्वी क्लबको एक स्टाफतर्फ थुकेको कारण उनलाई कारबाही गरिएको हो।
उक्त फाइनलमा साउन्डर्सले मियामीलाई ३–० ले हराएको थियो । खेल सकिएलगत्तै मैदानमा हात हालाहाल हुँदा सहकर्मी र प्रशिक्षकले रोक्ने प्रयास गर्दागर्दै पनि सुआरेजले प्रतिद्वन्द्वी स्टाफतर्फ थुकेका थिए ।
मियामीका अन्य खेलाडीहरू पनि घटनामा मुछिएका छन् । मिडफिल्डर सर्जियो बुस्केट्सले सिएटलका ओबेद वर्गासलाई मुड्किले हानेका थिए। उनलाई दुई खेलको प्रतिबन्ध लगाइएको छ। त्यस्तै डिफेन्डर तोमास अबिलेसलाई आक्रामक व्यवहारका कारण तीन खेलको प्रतिबन्ध सुनाइएको छ।
मियामीका खेलाडी मात्र नभई साउन्डर्सका प्रशिक्षक स्टाफ स्टिभन लेनहार्टलाई समेत पाँच खेलको प्रतिबन्ध लगाइएको छ। उनले लिग्स कप २०२५ को प्रतियोगिता नियमावलीको धारा ४।२।सी उल्लङ्घन गरेको समितिको ठहर छ ।