प्रधानमन्त्रीको चीन भ्रमणले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढ्यो : परराष्ट्र सचिव राई
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १९ बिहिबार
417
Shares
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न चीन भ्रमणले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाउन महत्त्वपूर्ण योगदान पुर्याएको परराष्ट्र सचिव अमृतबहादुर राईले बताएका छन्। जनवादी गणतन्त्र चीनको पाँचदिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्।
चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली भदौ १४ गते २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन गएका थिए। भ्रमणका क्रममा उनले चिनियाँ राष्ट्रपति र उपराष्ट्रपतिको साथै अन्य विभिन्न राष्ट्रका राष्ट्र र सरकार प्रमुखहरूसँग पनि भेटवार्ता गरेका थिए।
भ्रमणको मुख्य उद्देश्य चीनको थियानजिन सहरमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिई नेपालको सहभागिताको स्तर बढाउनु र राष्ट्रिय हितलाई प्रवर्द्धन गर्नु रहेको सचिव राईले बताए।
भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्ध समस्यारहित रहेको उल्लेख गर्दै नेपालको विकास प्रयासमा निरन्तर सहयोगका लागि चीन सरकारलाई धन्यवाद दिएको पनि सचिव राईले जानकारी दिए।
यसका साथै, प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपतिलाई लिपुलेक पास मार्फत सीमा व्यापार गर्नेबारे भारत र चीनबीच हालै भएको समझदारीप्रति आपत्ति जनाउँदै त्यसलाई कार्यान्वयन नगर्न आग्रह गरेका थिए।