काठमाडौँ । जननायक बीपी कोइराला स्मृति ट्रष्टले प्रत्येक वर्ष बीपी जन्मजयन्तीका अवसरमा बीपी कोइराला स्मृति साहित्य सम्मान पुरस्कार र बीपी कोइराला स्मृति प्रजातन्त्र सेनानी सम्मान पुरस्कार प्रदान गर्दै आएको छ । यस वर्ष ११२औं बीपी जन्मजयन्ती मनाइँदै छ । यस वर्ष २०८२ को बीपी साहित्य सम्मान पुरस्कार, वरिष्ठ साहित्यकार डा. बेन्जु शर्मा (काठमाडौं) प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको राशी नगद एक लाख एक हजार तथा सम्मान पत्र रहेको छ ।
त्यसैगरी वर्ष २०८२ को बीपी सेनानी सम्मान पुरस्कार, प्रजातन्त्र स्थापनाको संघर्षमा महत्वपूर्ण योगदान पुर्याउने अर्जुन खड्का (उदयपुर) लाई प्रदान गर्ने निर्णय गरेको छ । यस पुरस्कारको राशी नगद एकाउन्न हजार तथा सम्मान पत्र रहेको छ । यी दुवै पुरस्कार जननायक बीपी कोइराला स्मृति ट्रष्ट पुरस्कार छनौट समितिका संयोजक रामचन्द्र पोखरेल, सदस्यहरु किरण यादव र हरिप्रभा श्रेष्ठ खड्गीको निर्णयबाट प्रदान गरिएको हो ।
दुवै सम्मान पुरस्कारहरु राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा भदौ २४ गते मंगलबार राष्ट्रपति कार्यालय, शितलनिवास, काठमाडौंमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने छ ।
गत वर्ष २०८१ को साहित्य सम्मान द्वारिका श्रेष्ठ (काठमाडौं) र प्रजातन्त्र सेनानी सम्मान भोजराज भण्डारी (कास्की) लाई प्रदान गरिएको थियो । यी सम्मान तथा नगद पुरस्कारहरु बीपीट्रष्टले जननायक बीपी कोइरालाको शतवार्षिक वर्ष २०७१ बाट निरन्तर प्रदान गर्दै आएको छ ।