प्रधानमन्त्री ओली चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्कँदै
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १८ बुधबार
681
Shares
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किँदै छन्। उनी चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा शाङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन भदौ १४ गते २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन गएका थिए।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले तियानजिनमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नुका साथै शिखर सम्मेलनलाई सम्बोधन गरे। नेपाल सन् २०१६ देखि एससीओको संवाद साझेदार (डायलॉग पार्टनर) को रूपमा रहेको छ।
बेइजिङमा रहँदा उनले चिनियाँ उपराष्ट्रपति हान झेङ सँग पनि भेटवार्ता गरे। यसका साथै प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओसका प्रधानमन्त्री सोनेसाइ सिपानडोन, र भियतनामका प्रधानमन्त्री फाम मिन चिङ लगायतका विश्व नेताहरूसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
प्रधानमन्त्री ओलीसँग उनकी धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली काँग्रेसका सांसद पूर्णबहादुर खड्का र अन्य उच्च सरकारी अधिकारीहरू पनि भ्रमणमा सहभागी छन्।