arrow

त्रास शापुको

शापु रोग फैलन थाल्यो, गण्डकीमा दुई जना गम्भीर, काठमाडौँमै देखिन थाले सेता पुतली

सचेत रहन चिकित्सकको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १७ मंगलबार
seto-putali-----------.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । देशमा शापु रोगका बिरामी देखिन थालेका छन् । सेतो पुतलीबाट फैलने उक्त रोगका बिरामीहरू विशेषगरी यतिबेला गण्डकी प्रदेशमा देखिएका हुन् । आइतबार एक जना र सोमबार एक जना गरी दुई जना शापु रोग लागेका बिरामी बालकहरूलाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ ।

उनीहरुको पोखराको भ्यालिपाटनमा रहेको हिमालय आँखा अस्पतालमा उपचार भइरहेको हो । अस्पतालकी निर्देशक डा बबिता गुरुङले दुई जनाको गम्भीर अवस्थामा उपचार भइरहेको बताइन् ।

शापु रोग आँखामा देखिन्छ र तत्काल उपचार गर्न नसके बिरामी दृष्टिविहीन हुन सक्ने खतरा हुन्छ । डा गुरुङले दुवै ६ वर्षीय बालकहरूको उपचार भइरहेको बताइन् । एक जना बागलुङका र एक जना लमजुङका हुन् ।

५१ बेडको उक्त आँखा अस्पतालमा आउने शापु रोगबाट पीडित बिरामीको निःशुल्क उपचार हुने बताइन् । यसअघि पनि निःशुल्क उपचार गरिएको स्मरण गर्दै डा गुरुङले यसपालि पनि अस्पतालकै स्रोत र काठमाडौँस्थित दृष्टि आइ फाउन्डेशनको सहयोगमा निःशुल्क उपचार हुने जानकारी दिएकी हुन् ।

काठमाडौँ उपत्यकामै देखिन थाले सेता पुतली

काठमाडौँ उपत्यकामा पनि सेता पुतली देखिन थालेका छन् । उत्तीसका रूखमा सेतो पुतली बढी देखिन्छ । त्यसैले पनि काठमाडौँका शिवपुरी, चन्द्रागिरी, बुढानीलकण्ठ, तारकेश्वर लगायतका ठाउँमा उत्तीसका रूखहरु भएकाले सेतो पुतली रहने गरेको छ ।

यी क्षेत्रसँग जोडिएका ठाउँहरूमा सेता पुतली देखिएको भन्दै चिकित्सकहरुले सावधानी अपनाउन आग्रह गरिरहेका छन् ।

सावधानी अपनाउन आग्रह

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको बीपी कोइराला लाइन्स नेत्र अध्ययन केन्द्रकी सहप्राध्यापक डा रञ्जु खरेल सिटौलाले शापु रोग जताततै फैलन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेकी छिन् ।

यद्यपि यसको 'हटस्पट एरिया' भने गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेश भएको डा सिटौलाले बताइन् । उनले हालसम्म देशका २९ जिल्लामा शापु फैलेको इतिहास रहेको जानकारी दिइन् । 

उनले सेतो पुतलीको संसर्गबाट टाढा रहेर शापु रोगबाट बच्नका लागि आग्रह गरेकी हुन् । उनले भनिन्, ‘साँझ परेपछि धेरै उज्यालो बत्ती नबालौँ, बत्ती बालेरै राति नसुतौँ, बालबालिकालाई झाडीको वरपर खेल्न नदिऔँ । राति सुत्दा सकेसम्म झ्याल ढोका बन्द गरौँ । झुल लगाएर सुत्ने गरौँ ।’

शापु संक्रमणले आँखाभित्रका तीनवटै पत्रलाई असर गर्छ । सेतो पुतलीका रौँहरूमा र तिनले निकाल्ने नाइट्रिक अक्साइड र पोटासियम साइनाइडबीच हुने रियाक्सनका कारण आँखालाई हानि पुर्याउने गर्दछ ।

यो रोगको लक्षणहरु देखापरेको ४८ देखि ७२ घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टिसमेत गुम्न सक्छ । यो सबै उमेरमा देखिन्छ विशेषगरी बालबालिकामा बढी देखिन्छ ।

समयमै उपचार भएमा यो रोग निको हुन्छ तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ ।

कहाँ देखियो सेतो पुतली ?

सेतो पुतली देशैभर जहाँ पनि देखिन सक्छ । तर यो वर्षको सिजन गत साउन १५ गते कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपप्राध्यापक प्रविण पौडेलले गोर्खामा यी शापु फैलाउने पुतली देखेका थिए ।

उनी पनि डा खरेल सिटौलासँग मिलेर शापु नियन्त्रण गर्ने अभियानमा लागिपरेका छन् । उनले भने, ‘हामीले यसमा काम गरिरहेका छौँ । गोर्खाको घ्याचोकमा पुतलीहरु देखिएका हुन् । अहिलेसम्म क्षति भएर कोही आएका त छैनन् तर घरको भित्तामै देखिएकाले क्षति पुर्याउने सम्भावना बढी रहेको छ ।’

उनले सहरहरुमा रूखका हाँगाहाँगामा लगाइने ‘सिटी लाइट’ ले सेतो पुतलीलाई फैलन मद्धत पुग्ने बताउँछन् । यस्ता लाइटहरु नराख्न आग्रहसमेत गरेका छन् ।

समय तोकेर आउँछन् शापु फैलाउने पुतलीहरू

शापु रोग नेपाली चिकित्सकहरुले पत्ता लगाएका हुन् । यो नेपालमै देखिएको हो । यो रोग देखिएको यसपालि ५० वर्ष पुगेको छ । प्राडा मदनप्रसाद उपाध्यक्ष र प्राडा ओमकृष्ण मल्लले संयुक्त रूपमा शापु रोग पत्ता लगाएका हुन् । त्यसयता नेपाल शापुविरुद्ध लडिरहेको छ ।

आँखा रोग विशेषज्ञ डा खरेल सिटौलाले शापुकै विषयमा पीएचडीसमेत गरिरहेकी छिन् । उनले भनिन्, ‘यो त्यस्तो महामारी हो जसले तिथि तोकेरै आउँछ ।’

उनका अनुसार सामान्यतया अगष्ट र सेप्टेम्बर (साउन र भदौ महिना) मा यो रोग देखा पर्ने गर्दछ । मनसुनको वर्षा रोकिनासाथ शापु देखापर्छ ।

हरेक वर्ष फाटफुट देखिए पनि यो विशेष गरी फैलने भने एक वर्ष बिराएर नै हो । अंग्रेजी वर्षको बिजोडी वर्षमा शापु फैलने गरेको पनि डा खरेल सिटौलाले बताइन् ।

पानी रोकिने बित्तिकै यो आउने बताउँदै उनले वर्षायामपछि सेतो पुतली आइसक्ने जानकारी दिइन् । उनले भनिन्, ‘पुतलीको लाइफसाइकल सकिएपछि उनीहरु आउने रहेछन् । विशेष गरी एक वर्ष बिराएर आउने गरेको छ ।’

सरकारले कार्यक्रम चलाइरहेको छ

डा खरेल सिटौलाको टिम नै शापु नियन्त्रण र सचेतनाका लागि निरन्तर प्रयत्नमा छ । उनले सावधानी अपनाउनका लागि प्रचारप्रसार तथा जानकारीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमासमेत आफूहरुले देशका विभिन्न भागमा गएको बताइन् ।

उनले सबै जिल्ला समेट्न नसके पनि शापु देखिएका मुख्य मुख्य जिल्लामा गएर तालिमसमेत दिएको बताइन् ।

विशेषगरी विद्यायललाई प्रमुख तालिमको केन्द्र बनाइएको छ । बालबालिकामा बढी सचेत हुनुपर्ने भएकाले स्कूल नर्सहरुलाई तालिम दिइसकिएको डा सिटौलाले बताइन् ।

उनले गण्डकीका धेरै जिल्लामा कार्यक्रम गरिसकेको बताइन् । स्कूलका शिक्षक, स्कुल व्यवस्थापन, विभिन्न सरोकारवाला निकायमा प्रतिनिधिहरुलाई तालिम दिइएको उनले जानकारी दिइन् ।

बागलुङ र लमजुङका दुई बिरामी देखिएसँगै थप सावधानी अपनाउनु पर्ने देखिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ