शे–फोक्सुण्डो निकुञ्जको सीमा हेरफेरदेखि विभिन्न निकायमा नियुक्ति र भ्रमणको स्वीकृतिसम्म [भिडियो]
नेपाल सरकार र साउदी अरेबिया सरकारबीच श्रम सम्झौता गर्ने
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १६ सोमबार
806
Shares
काठमाडौं। सरकारले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रको सीमाना हेरफेर गर्ने निर्णय गरेको छ। भदौ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन्।
प्रमुख नीतिगत निर्णयहरू
विर्ता उन्मूलन (नवौँ संशोधन) नियमावली, २०८२ र राष्ट्रिय खेलकुद विकास (दोस्रो संशोधन) नियमावली, २०८२ लाई स्वीकृत गरिएको छ।
तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति (२०८२–२०८७) लाई पनि स्वीकृत गर्ने निर्णय गरिएको छ।
छाँयानाथ राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र घोषणा गरिएको छ।
नेपाल सरकार र साउदी अरेबिया सरकारबीच श्रम सम्झौता गर्ने निर्णय भएको छ।
गैरनाफामूलक संघसंस्थाहरूको एकीकृत विवरण राख्न गृह मन्त्रालयले तयार गरेको ‘एनपीओ पब्लिक पोर्टल’ लाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग जोड्न स्वीकृति दिइएको छ।
राष्ट्रिय समाचार समिति (रासस) र सिन्ह्वा न्युज एजेन्सी, चीनबीच समाचार आदानप्रदानसम्बन्धी समझदारीपत्र स्वीकृत गरिएको छ।
ललितपुरको श्री नवदुर्गा भवानी देवीको १२ वर्षे जात्रा र छाप्रो निर्माणका लागि आवश्यक काठको १० लाख रुपैयाँभन्दा बढीको राजश्व मिनाहा गरिएको छ।
विभिन्न निकायमा नियुक्ति र जिम्मेवारी
विशेष अदालतको अध्यक्षमा उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शनदेव भट्ट र अन्य चारजना न्यायाधीशलाई सदस्यको रूपमा तोकिएको छ।
राजश्व न्यायाधिकरण नेपालगञ्जको कानून सदस्य तथा अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीलाई तोकिएको छ।
श्रम अदालतको सदस्यमा अधिवक्ता कुमारी खरेललाई नियुक्त गरिएको छ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि ५८ जना अधिकृतको अस्थायी दरबन्दी स्वीकृत गरिएको छ।
विभिन्न मन्त्रालय अन्तर्गतका आयोजनाहरूका लागि ८७ जना अधिकृत, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत २१ जना र पुरातत्व विभागमा १० जना अधिकृतको अस्थायी दरबन्दी पनि स्वीकृत गरिएको छ।
भ्रमण तथा कार्यक्रमहरूलाई स्वीकृति
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भदौ १४ देखि १८ गतेसम्म चीनको औपचारिक भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गरिएको छ।
राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. राम पदारथ विच्छा, अर्थ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, ऊर्जा मन्त्रालयका सचिव सरिता दवाडी, कृषि सचिव डा. गोविन्दप्रसाद शर्मा, परराष्ट्रमन्त्री, शिक्षा सचिव चूडामणि पौडेल र प्रधानसेनापति अशोकराज सिग्देललाई विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रम र भ्रमणहरूमा सहभागी हुन स्वीकृति दिइएको छ।