काठमाडौँ । प्रथम सरु संगीत राष्ट्रिय पुरस्कार कविता आलेलाई दिइएको छ । उक्त पुरस्कारका संरक्षक वरिष्ठ संगीतकार एवं गायक कोमल निरौलाका अनुसार सरु संगीत राष्ट्रिय पुरस्कारबाट कविता सम्मानित भएकी हुन् ।
उनका अनुसार हरेक वर्ष नेपाली गीत संगीत एवं वाद्यवादनका क्षेत्रमा स्थापित भइसकेका र ४० वर्षमाथिका महिला कलाकारहरु मध्येबाट छनोट समितिले छनोट गरी निर्णय गरेको व्यक्तित्वलाई यो पुरस्कार प्रदान गरिन्छ ।
सोही अनुसार उक्त पुरस्कार प्राप्त गर्ने लोकगायिका आले प्रथम व्यक्तित्व हुन् । वि सं २०१२ सालमा इलामको फाकफोकमा जन्मिएकी आलेले पूर्वीय लोकभाकालाई नेपाली लोकसंगीतका क्षेत्रमा विशिष्ट पहिचान दिलाउन सक्षम रहेको र मौलिक लोकसंगीत पस्कन सक्ने स्रष्टाका रुपमा स्थापित भएकाले उनको योगदानको उच्च सम्मान गर्दै पुरस्कृत गरिएको पुरस्कार छनोट समितिकी सदस्य गायिका लोचन भट्टराईले बताइन् ।
आफ्नी दिवगंत आमा सरस्वती निरौलाको नाममा गत वर्ष तीन लाख रुपैयाँ राशिको अक्षयकोष खडा गरी पुरस्कार स्थापना गरिएको सरु संगीत घरका प्रबन्ध निर्देशक डेनी निरौलाले जानकारी दिए ।
पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि दिपक जङ्गमले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा डा रत्नमणी नेपाल, सरकारका पूर्व सचिव खेमराज नेपाल, नेपाल एयरलाइन्स कार्यकारी अध्यक्ष युवराज अथिकारी, उच्च अदालत पाटनका न्यायाधीश दुर्गा ढुंगेल, संगीतकार मिलन मोक्तान, शिक्षासेवी विष्णुकुमार निरौला र ललितपुर जिल्ला प्याब्सन अध्यक्ष तारा खनाल लगायतको उपस्थिति रहेको थियो ।