arrow

ऐतिहासिक पात्र बखानसिंह गुरूङमा केन्द्रित उपन्यास ‘बखान’माथि परिचर्चा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १५ आइतबार
bp-pustakalaya-ajayababu.jpg

ललितपुर । नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले लेखक वसन्त पराजुलीको उपन्यास बखानमाथि परिचर्चा कार्यक्रम गरेको छ ।

कांग्रेस मुख्यालय बीपीनगर सानेपामा शनिबार आयोजित कार्यक्रममा सहभागी कांग्रेस नेता एवं लेखक साहित्यकारहरुले ऐतिहासिक पात्र बखानसिंह गुरूङले प्रजातान्त्रिक आन्दोलन, सहकारी अभियान एव चितवनको बस्ती विकासमा पुर्‍याएको योगदानमा आधारित भएर उपन्यास लेखिएको भन्दै प्रशंसा गरे ।

कांग्रेस सांसद् एवम् पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले बखानसिंह गुरूङको संघर्षको बारेमा जानकार रहेको भन्दै ऐतिहासिक विषयलाई उपन्यासमार्फत उजागर गरेकोमा लेखक पराजुलीलाई बधाई दिए ।

उनले युवा पुस्ताले ऐतिहासिक विषयबस्तुमा गहिरो अध्ययन गरेर पुस्तकको माध्यमबाट समाजलाई योगदान दिनुपर्नेमा जोड दिए ।

कांग्रेस केन्द्रीय सदस्य एवम् पुस्तकालय तथा अध्ययन स्रोत केन्द्रका प्रमुख अजयबाबु शिवाकोटीले ऐतिहासिक पात्र बखानसिंह गुरूङको संघर्षको गाथामा पराजुलीले उपन्यास तयार पारेको भन्दै आफू नेतृत्वको विभागले यस्तै इतिहास बोकेका विषयबस्तुहरुको अध्ययन, अनुसन्धानमा धेरै काम गरिरहेको जानकारी दिए ।

कांग्रेस नेता एवं विश्लेषक शंकर तिवारीले बखानसिंह गुरूङको जीवनीमा आधारित उपन्यासबाट कांग्रेसको नेतृत्वमा पटक-पटक भएको संघर्ष, २०३८ सालमा गुरूङ मन्त्री बन्दा कानून, न्याय तथा भूमिसुधार मन्त्री नै रोज्नुको कारण खोज्नु पर्नेमा जोड दिए ।

साहित्यकार ठाकुर बेल्वासेले पराजुलीले नेपाली साहित्यलाई उत्कृष्ट उपन्यास दिएको दाबी गरे । उनले यसलाई इतिहासको दस्तावेजभन्दा पनि उपन्यासकै रुपमा ग्रहण गर्नुपर्ने धारणा राखे ।

साहित्यकार एवम् प्राध्यापक एलबी क्षेत्रीले २०१८ सालमा चितवनमा पञ्चायतविरुद्ध भएको संघर्षको विषय उपन्यासमा समेटिएको भन्दै त्यसबारे कांग्रेसले अझै खोजबिन गर्नुपर्ने सुझाव दिए ।

बखानसिंह गुरूङकी पनातिनी जानुका गुरूङले कांग्रेसले आफ्ना बाजेको उचित मूल्याङ्कन गर्न नसकेको गुनासो गरिन् । उनले कतिपय प्रसङ्ग उपन्यासमा समेटिन बाँकी रहेकोसमेत जानकारी दिइन् ।

उपन्यासकार पराजुलीले आफूले बखानसिंह गुरूङको ऐतिहासिक तथ्यमा केन्द्रित भई उपन्यास तयार पारेको जानकारी दिँदै पछिल्लो समय राजनीतिक वृत्तमा व्यापक बहस सिर्जना गर्न सफल भएकोमा सबैप्रति आभार व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ