काठमाडाैँ। नेपाल सरकारले मुगु जिल्लास्थित मुगुम कार्मारोङ गाउँपालिकामा छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको छ । वन मन्त्रालयको प्रस्तावमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।
मुगुमा वि.स. २०३२ सालमा रारा राष्ट्रिय निकुञ्ज स्थापना भएको करिव ५० बर्ष पछि वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको विशेष पहलमा सरकारले दोस्रो छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको हो ।
उक्त राष्ट्रिय निकुञ्ज नेपालकै कान्छो निकुञ्जको रुपमा चिनिने भएको मन्त्री शाहीले बताए ।
डोल्पाको से-फोक्सुन्डो राष्ट्रिय निकुञ्जसँग जोडिएको मुगुम कार्मारोङ गाउँपालिकाको डोल्फु क्षेत्र करिब नौ सय छ वर्गकिलोमिटर भूभागलाई मात्र अलग गरेर छायाँनाथ राष्ट्रिय स्थापना निकुञ्ज स्थापना गरिएको पनि उनले जानकारी दिए ।
डोल्फु क्षेत्रका स्थानीयवासीलाई कामको लागि से-फोक्सुन्डो राष्ट्रिय आउजाउ गर्न पैदल मार्गबाट एक साता समय लाग्ने भएको स्थानीयको दुःख र पीडा बुझेर मन्त्री शाहीले छायाँनाथ राष्ट्रिय स्थापनाको निर्णय गरेका हुन् । उक्त राष्ट्रिय निकुञ्ज कार्मारोङ गाउँपालिकाको वडा.नं १ मा पर्ने गरेको छ ।
मुगुम कार्मारोङ गाउँपालिकाले पनि से-फोक्सुन्डो राष्ट्रियसित जोडिएको भूभागलाई छुटयाएर अलग निकुञ्ज बनाइदिन मन्त्री शाहीसँग माग गरेको थियो । यो निकुञ्जसँगै नेपालमा अब राष्ट्रिय निकुञ्जको सङ्ख्या १३ पुगेको छ ।