काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन जाने भएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा ओली चीन भ्रमणमा जान लागेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलन २०२५ मा भाग लिन चीन जान लागेका हुन् ।
प्रधानमन्त्री ओली भदौ १४ गते शनिबारदेखि १८ गते बुधबारसम्म चीनमा रहने छन् । जापानी आक्रामकता विरुद्ध चिनियाँ जनताको प्रतिरोध युद्ध र विश्व फासिस्ट विरोधी युद्धको विजयको ८० औं वार्षिकोत्सवको स्मृति समारोहमा समेत उनले भाग लिने छन् ।
मन्त्रालयका अनुसार ओलीले चिनियाँ राष्ट्रपति सीसँग अलग्गै भेटवार्ता समेत गर्नुका साथै १७ भदौमा तिआन्जिनमा आयोजना हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन् ।
यसै क्रममा उनले शिखर सम्मेलनमा भाग लिने केही विश्व नेताहरूसँग भेटघाट समेत गर्नेछन् । भ्रमणकै क्रममा प्रधानमन्त्री ओलीले चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्ने छन् ।
भ्रमण टोलीमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, सांसद् छविलाल विश्वकर्मासहितका उच्च अधिकृतहरू समेत रहेनछन् ।