म्याग्दी । म्याग्दीको विकट रघुगंगा गाउँपालिका-७ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा आएपछि स्थानीयले गाउँमै आधारभूत स्वास्थ्य सेवा पाउन थालेका छन् । स्वास्थ्य एकाइ स्थापना भएसँगै सामान्य उपचारका लागि घण्टौं हिँडेर अर्को गाउँ पुग्नुपर्ने बाध्यता हटेको हो ।
भौगोलिक रूपमा दुर्गम मानिने नामिला र कुइनेका करिब १०० घरपरिवार यस सेवाबाट प्रत्यक्ष लाभान्वित भएका छन् । यसअघि यहाँका बासिन्दालाई स्वास्थ्य सेवा लिन चिमखोला वा घ्याँसीखर्कस्थित स्वास्थ्य चौकी पुग्नुपर्ने अवस्था थियो ।
स्थानीय मीना बुढाले बर्खायाममा पहिरोले बाटो अवरुद्ध हुँदा स्वास्थ्य सेवाबाटै वञ्चित हुनुपर्ने दुःख अब हटेको बताइन् । हाल आमा समूहको भवनको एक कोठाबाट स्वास्थ्य एकाइ सञ्चालन गरिएको छ ।
वडा सदस्य प्रेमबहादुर पुनका अनुसार एकाइमा एक जना अनमी खटाइएको छ । उनले भने, ‘एकाइबाट स्वास्थ्य परीक्षण, परामर्श, निःशुल्क औषधि वितरण र खोपसम्बन्धी सेवा दिने व्यवस्था मिलाइएको छ ।’
गत आर्थिक वर्षमा एकाइ परिसरमा सार्वजनिक शौचालय निर्माण गरिएको थियो भने चालु वर्षमा नयाँ भवन बनाउने योजना रहेको पुनले जानकारी दिए ।
गाउँपालिकाले सेवाको पहुँच नपुगेका अन्य विकट गाउँमा पनि स्वास्थ्य एकाइ विस्तार गर्दै लगेको छ । गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले वडास्तरका स्वास्थ्य संस्थामा पुग्न कठिन हुने ठाउँलाई प्राथमिकतामा राखेर सेवा विस्तार गरिएको बताए ।
उनका अनुसार नामिला र पात्लेसहित ठाडाखानी, कुइनेखानी, रायखोर, दर्मीजा, बादुक, राममन्दिर र मौवाफाँटमा पनि स्वास्थ्य एकाइ स्थापना भइसकेका छन् । रासस