काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सोमवार वडा नं. २३ र २४ अन्तर्गत वसन्तपुर र इन्द्रचोक क्षेत्रमा खाद्य अनुगमन गरेको छ ।
महानगरको कृषि तथा पशुपंक्षी विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले घुम्ती प्रयोगशाला (खाद्य अनुगमन भ्यान) को प्रयोग गरी चार रेस्टुरेन्ट र एक मिठाई पसलको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा चार रेस्टुरेन्टमा प्रयोग भएको तार्ने तेलको गुणस्तर टोटल पोलार मट्रियल्स उपकरणद्वारा जाँच गरिएको थियो ।
जाँचमा दुई रेस्टुरेन्टको तार्ने तेल मापदण्डविपरीत रहेको पाइएपछि व्यवसायीको रोहबरमा २२ लिटर र नौ लिटर गरी कुल ३१ लिटर अखाद्य तेल नष्ट गरिएको छ ।
यस्तै, मिठाई पसलको नमुना सङ्कलन गरी परीक्षण गर्दा सबै मिठाईहरू मापदण्डअनुरूप रहेको पाइएको छ ।
टोलीले व्यवसायीलाई खाद्य स्वच्छता कायम राख्न, सरसफाइमा ध्यान दिन, तार्ने तेल बारम्बार प्रयोग नगर्न, शाकाहारी र मांशाहारी खाद्यवस्तु छुट्टै भण्डारण गर्न, एप्रोन, हेरनेट र मास्क अनिवार्य प्रयोग गर्न तथा कानूनसम्मत ढङ्गले व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ ।
विभागले उपभोक्ताको स्वास्थ्य र खाद्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखी यस्ता अनुगमन कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । साथै, सबै व्यवसायीलाई खाद्य स्वच्छता र गुणस्तर कायम गर्न जिम्मेवार हुन आह्वान गरेको छ ।