चितवन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शल्यक्रियाको विस्तारित सेवा पुनः सुरुआत गरिएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार बिरामीको चाप बढ्दै गएपछि नियमित समयभन्दा अतिरिक्त समयमा शल्यक्रिया सेवा थालिएको हो ।
नियमितभन्दा अतिरिक्तमा केही शुल्क बढी लाग्ने भए पनि पालो कुर्न नचाहने र आर्थिक रूपमा केही सक्षम बिरामीलाई लक्षित गरेर सेवा थालनी गरिएको हो । यसबाट विपन्न अन्य बिरामीका लागि पनि सहज हुने उनले जानकारी दिए ।
गत आइतबार आन्द्राको क्यान्सरको शल्यक्रिया गरिएको कन्सल्टेन्ट सर्जिकल अङ्कोलोजिष्ट डा ज्ञानप्रसाद पोखरेलले बताए। सोमबार नाक, कान, घाँटीको शल्यक्रिया यसै सेवाअन्तर्गत गरिएको छ ।
अस्पतालमा नियमित शल्यक्रिया गर्नुपर्ने बिरामीले दुई महिनासम्म पालो कुर्नुपर्ने हुन्छ । डा पोखरेलले विस्तारित सेवामार्फत उपचार गर्न पाएसँगै बिरामीलाई धेरै राहत हुने बताए ।
कार्यकारी निर्देशक डा पौडेलले देशभरमा क्यान्सरको उपचार हुने बिरामीमध्ये ६० प्रतिशत यसै अस्पतालमा हुने गरेको बताए । उनका अनुसार सन् २०२३ मा अस्पतालमा पाँच हजार ३७४ वटा शल्यक्रिया गरिएका छन् । अघिल्लो वर्ष चार हजार शल्यक्रिया गरिएको थियो ।
सन् २०२३ मा बहिरङ्ग सेवामा एक लाख ७२ हजार ५६ बिरामीको उपचार गरिएको छ । अघिल्लो वर्ष यो सङ्ख्या एक लाख ६२ हजार थियो । सन् २०२४ को तथ्याङ्क आइनसके पनि निरन्तर बिरामीको सङ्ख्या बढ्दै गएपछि चापलाई ध्यानमा राखेर अस्पतालले विस्तारित सेवा सुरु गरेको हो । रासस