प्रदेशमा सुशासन ल्याउने कार्यलाई प्राथमिकता दिएर काम गर्छौँ: मुख्यमन्त्री
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ९ सोमबार
462
Shares
फाइल तस्बिर
मकवानपुर । बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ग्रामछीण भेगका विपन्न कृषकलाई उन्नत प्रविधिबाट कृषि उत्पादनलाई अघि बढाउन प्रदेश सरकारले आर्थिक ‘प्याकेज’ सहित कार्यक्रम सञ्चालन गर्ने बताएका छन् ।
एक कार्यक्रममा जिल्लाको थाहा नगरपालिकालाई पूर्ण संंस्थागत सुत्केरी नगर घोषणासभामा उनले आफ्नो सरकारले गाउँ र जनमुखी कार्यक्रमका साथ प्रदेशमा सुशासन ल्याउने कार्यलाई प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मुख्यमन्त्रीले जिल्लाको राक्सिराङ, कैलाश, मनहरिबाट रुपचन्द्र बिष्ट थाहामार्गलाई प्रदेश सरकारले यसै आर्थिक वर्षभित्रै निर्माणको थालनी गर्ने र जनतालाई स्वास्थ्य उपचारलगायत अन्य सेवा प्रवाह गर्ने बताए ।
प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले जिल्लाको उत्तरी भेगमा बसोबास गर्ने विभिन्न समुदायका व्यक्तिलाई कृषि उत्पादनका लागि आवश्यक ऋण उपलब्ध गराउन आग्रह गरे । उनले यहाँ उत्पादन हुने मौसमी तरकारी, फलफूल र खाद्यान्नलाई बजारसम्म पुर्याउने व्यवस्था गरिनुपर्नेमा जोड दिए ।
थाहा नगरको विकास र राजनैतिक जनचेतनाको संवाहक स्वर्गीय रुपचन्द्र बिष्टको दुरदर्शी योगदान रहेको उल्लेख गर्दै सांसद बर्तौलाले ती क्षेत्रका विपन्न महिलालाई लक्षित गरी सुविधासम्पन्न अस्पताललगायत सेवा प्रदान गर्न गुरुयोजनासहित अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य कुमारी मुक्तान, जिल्ला समन्वय समिति प्रमुख ललितबहादुर घलान, थाहा नगरपालिका प्रमुख विष्णुबहादुर बिष्ट र उपप्रमुख भरत गोपालीले आफ्नो धारणा राखेका थिए ।
मुख्यमन्त्री बानियाँले थाहा नगरपालिका र ब्रह्मकुमारी राजयोग सेवा केन्द्र पालुङको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रमको शुभारम्भसमेत गरेका थिए । कार्यक्रममा ६५ जनाले रक्तदान गरे।