देशमा नकारात्मक भाष्य निर्माण हुँदैछ: प्रधानमन्त्री ओली
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ६ शुक्रबार
552
Shares
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा नकारात्मक भाष्य निर्माण हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन्। सिस्नुपानी नेपालको 'जुरुक्क कर्णाली' कार्यक्रमलाई सम्बोधन गर्दै उनले भएका राम्रा कामहरूको चर्चा नभएको बताए।
प्रधानमन्त्री ओलीले सधैँ नकारात्मक कुरालाई मात्र प्राथमिकता दिने र भएका सकारात्मक विकासहरूको उपेक्षा गर्ने परिपाटी विकसित भएको बताए। उनले सबै नेपाली सकारात्मक सोचका साथ अगाडि बढेमा देश निर्माण गर्न धेरै समय नलाग्ने धारणा राखे। उनले आफूमाथि गरिएका व्यङ्ग्यहरूलाई 'केही नगर्नेले केही गर्नेलाई झट्का हानेको जस्तो' भनी टिप्पणी गरे।
उनले कर्णाली प्रदेशको विकासका लागि आफूले केही मानिसहरूले गरेको योगदानबाहेक अरू कसैसँग पनि प्रतिस्पर्धा गर्नसक्ने कामहरू गरेको दाबी गरे। ग्यासको खोजी गर्नुपर्छ भन्दा उडाउनेहरू अहिले ग्यास पाइएपछि पनि विरोध गरिरहेको उनले बताए।
प्रधानमन्त्रीले भने, "हाम्रो अलिकति नकारात्मक एटिट्युड बनेको छ। त्यसकारण सकारात्मक सोचको विकास गरौं। सकारात्मकताका साथ अघि बढौं। केही गरौं। ... ग्यास पाइयो, चर्चा नै नगर्ने, विश्वविद्यालय बन्यो चर्चा नै नगर्ने, कोही सुत्केरी हुँदा हेलिकप्टरबाट ल्याएको नदेख्ने, बाटो बन्यो, चर्चा नै नगर्ने।" उनले नेपाल बन्ने र बन्दै गरेको बताए।