काठमाडौँ । बायर्न म्युनिखले जर्मन सुपर कप फुटबलको उपाधि जितेको छ। शनिबार भएको खेलमा ह्यारि केन र नयाँ खेलाडी लुइस डियाजको गोलको मद्दतमा भिएफबी स्टुटगार्टलाई २–१ ले हराउँदै बायर्नले उपाधि जितेको हो ।
गोलरक्षक तथा म्यान अफ द म्याच म्यानुअल न्युएरको उत्कृष्ट फर्मले बायर्न विजयी भएको हो । उनले बुन्डेसलिगा शुरु हुनुभन्दा एक साताअघि टोलीलाई थप आत्मविश्वास दिलाएका हुन् ।
बायर्नले प्रि–सिजनका सबै खेल जितेको थियो । खेलको १८औँ मिनेटमा लुका जाग्वेजको रक्षात्मक त्रुटिी फाइदा उठाउँदै गत सिजनका शीर्ष स्कोरर केनले बायर्नलाई अग्रता दिलाए । जर्मन कप विजेता स्टुटगार्टले चाँडै बराबरी खोज्ने प्रयास गर्यो। वोल्टेमाडले नजिकैबाट प्रहार गरेको बल न्युएरले बचाए ।
३९ वर्षीय न्युएरले ७५औँ मिनेटमा पनि निर्णायक भूमिका खेले । उनले डिफ्लेक्ट भएको प्रहारलाई उत्कृष्ट प्रतिक्रियामा बाहिर धकेले । त्यसपछि ७७ औँ मिनेटमा कोलम्बियाली डियाजले आफ्नो पहिलो प्रयासमै गोल गरे ।
खेलको अन्तिम इन्जुरी समयमा स्टुटगार्टका जेमाइ लेवेलिङले गोल गरे पनि टिमलाई हारबाट जोगाउन सकेनन् ।