काठमाडौँ । आँखा रोग विशेषज्ञ डा रञ्जु खरेल सिटौलाले सेतो पुतली देखिन थालेको भन्दै शापु रोगबाट बच्न सचेतना अपनाउनका लागि आग्रह गरेकी छिन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको बीपी कोइराला लाइन्स नेत्र अध्ययन केन्द्रकी सहप्राध्यापक डा खरेल सिटौलाले सेतो पुतलीबाट सर्ने रोग शापुबाट बच्न आग्रह गरेकी हुन् ।
सेतो पुतलीको संसर्गबाट टाढा रहेर सापु रोगबाट बच्नका लागि उनले आग्रह गरेकी हुन् । उनले भनिन्, ‘साँझ परेपछि धेरै उज्यालो बत्ती नबालौँ, बत्ती बालेरै राति नसुतौँ, बालबालिकालाई झाडीको वरपर खेल्न नदिऔँ । राति सुत्दा सकेसम्म झ्याल ढोका बन्द गरौँ । झुल लगाएर सुत्ने गरौँ ।’
डा रञ्जु खरेल सिटौला
सापु संक्रमणले आँखाभित्रका तीनवटै पत्रलाई असर गर्छ । सेतो पुतलीका रौँहरूमा र तिनले निकाल्ने नाइट्रिक अक्साइड र पोटासियम साइनाइडबीच हुने रियाक्सनका कारण आँखालाई हानि पुर्याउने गर्दछ ।
यो रोगको लक्षणहरु देखापरेको ४८ देखि ७२ घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टिसमेत गुम्न सक्छ । यो सबै उमेरमा देखिन्छ विशेषगरी बालबालिकामा बढी देखिन्छ ।
समयमै उपचार भएमा यो रोग निको हुन्छ तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ ।
कहाँ देखियो सेतो पुतली ?
हुनत यो पुतली देशैभर जहाँ पनि देखिन सक्छ । तर साउन १५ गते कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपप्राध्यापक प्रविण पौडेलले गोर्खामा यी शापु फैलाउने पुतली देखेका थिए ।
उनी पनि डा खरेल सिटौलासँग मिलेर शापु नियन्त्रण गर्ने अभियानमा लागिपरेका छन् । उनले भने, ‘हामीले यसमा काम गरिरहेका छौँ । गोर्खाको घ्याचोकमा पुतलीहरु देखिएका हुन् । अहिलेसम्म क्षति भएर कोही आएका त छैनन् तर घरको भित्तामै देखिएकाले क्षति पुर्याउने सम्भावना बढी रहेको छ ।’
उनले सहरहरुमा रूखका हाँगाहाँगामा लगाइने ‘सिटी लाइट’ ले सेतो पुतलीलाई फैलन मद्धत पुग्ने बताउँछन् । यस्ता लाइटहरु नराख्न आग्रहसमेत गरेका छन् ।
समय तोकेर आउँछन् शापु फैलाउने पुतलीहरू
शापु रोग नेपाली चिकित्सकहरुले पत्ता लगाएका हुन् । यो नेपालमै देखिएको हो । यो रोग देखिएको यसपालि ५० वर्ष पुगेको छ ।
प्राडा मदनप्रसाद उपाध्यक्ष र प्राडा ओमकृष्ण मल्लले संयुक्त रूपमा शापु रोग पत्ता लगाएका हुन् । त्यसयता नेपाल सापुविरुद्ध लडिरहेको छ ।
आँखा रोग विशेषज्ञ डा रञ्जु सिटौलाले सापुकै विषयमा पीएचडीसमेत गरिरहेकी छिन् । उनले भनिन्, ‘यो त्यस्तो महामारी हो जसले तिथि तोकेरै आउँछ ।’
उनका अनुसार सामान्यतया अगष्ट र सेप्टेम्बर (साउन र भदौ महिना) मा यो रोग देखा पर्ने गर्दछ । मनसुनको वर्षा रोकिनासाथ सापु देखापर्छ ।
हरेक वर्ष फाटफुट देखिए पनि यो विशेष गरी फैलने भने एक वर्ष बिराएर नै हो । अंग्रेजी वर्षको बिजोडी वर्षमा शापु फैलने गरेको पनि डा खरेल सिटौलाले बताइन् ।
पानी रोकिन बित्तिकै यो आउने बताउँदै उनले वर्षायामपछि सेतो पुतली आइसक्ने जानकारी दिइन् । उनले भनिन्, ‘पुतलीको लाइफसाइकल सकिएपछि उनीहरु आउने रहेछन् । विशेष गरी एक वर्ष बिराएर आउने गरेको छ ।’
सरकारले कार्यक्रम चलाइरहेको छ
डा खरेल सिटौलाको टिम नै शापू नियन्त्रण र सचेतनाका लागि निरन्तर प्रयत्नमा छ । उनले सावधानी अपनाउनका लागि प्रचारप्रसार तथा जानकारीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमासमेत आफूहरुले देशका विभिन्न भागमा गएको बताइन् ।
उनले सबै जिल्ला समेट्न नसके पनि शापु देखिएका मुख्य मुख्य जिल्लामा गएर तालिमसमेत दिएको बताइन् ।
विशेषगरी विद्यायललाई प्रमुख तालिमको केन्द्र बनाइएको छ । बालबालिकामा बढी सचेत हुनुपर्ने भएकाले स्कूल नर्सहरुलाई तालिम दिइसकिएको डा सिटौलाले बताइन् ।
उनले गण्डकीका धेरै जिल्लामा कार्यक्रम गरिसकेको बताइन् । स्कूलका शिक्षक, स्कुल व्यवस्थापन, विभिन्न सरोकारवाला निकायमा प्रतिनिधिहरुलाई तालिम दिइएको उनले जानकारी दिइन् ।
उपत्यका पनि असुरक्षित
डा सिटौलाले काठमाडौँ उपत्यका पनि सुरक्षित नभएको बताइन् । त्यसको कारण छ । सिटौलाका अनुसार उत्तीसका रूखमा सेतो पुतली बढी देखिन्छ ।
त्यसैले पनि काठमाडौँका शिवपुरी, चन्द्रागिरी, बुढानीलकण्ठ, तारकेश्वर लगायतका ठाउँमा उत्तीसका रूखहरु भएकाले सेतो पुतली रहने गरेको छ ।
सचेतना अपनाउन सूचना तथा सञ्चार केन्द्रले सूचना प्रसारण गर्न थालिसकेको छ ।