नेपालमा पहिलोपटक पक्षघातसम्बन्धी शिखर सम्मेलन आयोजना हुँदै
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३० शुक्रबार
712
Shares
काठमाडौं। नेपालमा पक्षघातसम्बन्धी उपचार, अनुसन्धान र रोकथामका लागि महत्त्वपूर्ण मानिएको 'हिमालयन इन्टरनेशनल स्ट्रोक शिखर सम्मेलन' आयोजना हुने भएको छ। नेपाल पक्षघात संघले नेपाल स्ट्रोक प्रोजेक्टसँगको सहकार्यमा साउन ३१ देखि भदौ १ गतेसम्म यो सम्मेलन आयोजना गर्न लागेको हो।
नेपाल पक्षघात संघका अध्यक्ष तथा वरिष्ठ न्यूरोलोजिस्ट डा. राजु पौडेलका अनुसार, सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गर्नेछन्। सम्मेलनमा नेपालसहित ११ देशका विज्ञहरूले प्रस्तुति दिनेछन्। पहिलो दिनको वैज्ञानिक सत्रमा २८ जना अन्तर्राष्ट्रिय र ३२ जना राष्ट्रिय विज्ञहरूले क्लिनिकल प्रगति, अनुसन्धान अद्यावधिक र नीतिगत दिशानिर्देशलगायतका विषयमा छलफल गर्नेछन्।
सम्मेलनको दोस्रो दिन भने सीपमा आधारित तालिम तथा कार्यशालाहरू सञ्चालन गरिनेछ। जसमा स्ट्रोक अनुसन्धान विधि, थ्रोम्बोलाइसिस, मेकानिकल थ्रोम्बेक्टोमी, बोटोक्स थेरापीजस्ता विषयहरूमा प्रशिक्षण दिइनेछ।
सम्मेलनको मुख्य उद्देश्य नेपालमा स्ट्रोकको वास्तविक अवस्था प्रस्तुत गर्नु, यससम्बन्धी चासो उजागर गर्नु र सातवटै प्रदेशमा स्ट्रोकको उपचारको अवस्थालाई प्रष्ट पार्नु रहेको डा. पौडेलले बताए।
नेपाल स्ट्रोक प्रोजेक्टकी प्रोजेक्ट म्यानेजर डा. रचना नकर्मीले यो सम्मेलनले ज्ञान आदान-प्रदान, क्षमता विकास तथा सहकार्यका लागि महत्त्वपूर्ण मञ्चको रूपमा काम गर्ने विश्वास व्यक्त गरिन्।
नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष डा. लेखजंग थापाले यो सम्मेलन नेपाल र सम्पूर्ण हिमालय क्षेत्रभित्र स्ट्रोकको रोकथाम, उपचार र अनुसन्धानलाई सुदृढ बनाउनका लागि एक कोशेढुंगा साबित हुने बताए।
सम्मेलनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन नेपाललगायतका अन्तर्राष्ट्रिय संस्थाहरूले सहयोग गरेका छन्। सम्मेलनमा वर्ल्ड स्ट्रोक अर्गनाइजेसनका अध्यक्ष डा. जयराज पाण्डियनलगायतका अन्तर्राष्ट्रिय विज्ञहरू सहभागी हुँदैछन्।