काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मापदण्ड विपरीतका प्रशोधित पिउने पानीका २७१ जार नष्ट गरेको छ ।
महानगरका अनुसार गत आसार र यही साउनमा मात्रै मापदण्ड विपरीतका ४५६ वटा जार बरामद गरी नष्ट गरिएको छ ।
बर्खायाममा पानीजन्य रोगहरूको जोखिम न्यूनीकरण गर्न कामपाले प्रशोधित पिउने पानीको अनुगमनको क्रममा उक्त जार नष्ट गरेको कृषि तथा पशुपक्षी विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए ।
पानीको गुणस्तर सुनिश्चित गर्न भौतिक तथा जैविक परीक्षणका लागि नमुनाहरू प्रयोगशालामा पठाइएको पनि उनले बताए ।
चालु आर्थिक वर्ष सुरु भएपछि कामपाले बल्खु, चाबहिल-चुच्चेपाटी, माछापोखरी-बालाजु, कोटेश्वरलगायतका स्थानमा अनुगमन गरेको थियो ।
महानगर, कृषि तथा पशुपन्छी विभाग र महानगर प्रहरी बलको सहकार्यमा विभिन्न स्थानमा चेकपोस्ट राखेर खानेपानी बोक्ने गाडीहरूको अनुगमन गरिएको हो ।
“हामीले बर्खायाममा पानीजन्य रोगको जोखिमलाई मध्यनजर गर्दै प्रशोधित पिउने पानीको गुणस्तरमा विशेष ध्यान दिएका छौँ, मापदण्ड विपरीतका जारहरूले नागरिकको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ, त्यसैले हामीले यस्ता जार तत्काल जफत गरी नष्ट गर्ने र कम्पनीलाई कडा निर्देशन दिने काम गरिरहेका छौँ”, न्यौपानेले भने ।
अनुगमनका क्रममा मापदण्ड विपरीतका जार बिक्री-वितरण नगर्न, जारमा स्पष्ट लेबल राख्न, कम्पनीले जारी गरेको बिल-बिजक सवारी साधनमै लिएर हिँड्न र पानीको गुणस्तरमा संवेदनशील हुन पानी उत्पादक कम्पनीलाई निर्देशन दिइएको न्यौपानले बताए । रासस