arrow

यातायात कार्यालयमा लाइन बस्नुपर्ने बाध्यता हटाइने, अनलाइन भुक्तानीको व्यवस्था गर्न निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २१ बुधबार
devendra-dahal-06-18-01.jpg

काठमाडौँ। सरकारले यातायातसम्बन्धी सेवा प्रवाहलाई सहज बनाउन महत्त्वपूर्ण निर्णय गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सातै प्रदेशका यातायातमन्त्रीहरूसँगको छलफलपछि सेवाग्राहीले कर तिर्दा लाइनमा बस्नुपर्ने झन्झट अन्त्य गर्न निर्देशन दिएका छन्।

मन्त्री दाहालले सबै प्रदेशलाई अनलाइन पेमेन्ट को व्यवस्था मिलाउन निर्देशन दिएका छन्। यसबाट कर तिर्ने सेवाग्राहीले लाइनमा बस्नुपर्ने बाध्यता हट्नेछ।

त्यसैगरी, सवारी साधनको वार्षिक तथ्याङ्क व्यवस्थापनमा पनि सुधार ल्याइएको छ। यसअघि ०८२ वैशाख मसान्तसम्ममा उपलब्ध हुनुपर्ने तथ्याङ्क प्राप्त नभएकाले अब ०८२ असोज मसान्तसम्ममा विभागले उपलब्ध गराएको ढाँचामा तथ्याङ्क उपलब्ध गराउन प्रदेश मन्त्रालयहरूलाई निर्देशन दिइएको छ।

बैठकले लामो समयदेखि जटिल बनेको बेरुजु फछ्र्यौट को कामलाई पनि अगाडि बढाउने निर्णय गरेको छ। यातायात व्यवस्था विभागलाई बेरुजुसँग सम्बन्धित कागजातहरू निश्चित अवधिभित्र उपलब्ध गराउन भनिएको छ। यदि तोकिएको समयमा कागजात उपलब्ध गराउन नसके सम्पूर्ण बेरुजुको दायित्व सम्बन्धित कार्यालयमा जाने निर्णय पनि गरिएको छ।

यसका साथै, निर्वाचन क्षेत्र सडक, वैकल्पिक सहायक राजमार्ग र स्थानीय सडक पुल निर्माण कार्यक्रमअन्तर्गत सम्पन्न भएका सडक तथा पुलहरूको मर्मतसम्भारको जिम्मेवारी सम्बन्धित प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने निर्णय भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ