बागमतीको मुख्यमन्त्रीका लागि इन्द्र बानियाँको दाबी पेस
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १९ सोमबार
824
Shares
तस्बिर – फाइल ।
हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसको संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् । उनले सोमबार दिउँसो प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष दाबी पेस गरेका हुन् ।
बहादुर सिंह लामाले आइतबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।
मंगलबार दिउँसो २ बजेसम्मको समय राखेर दाबी पेसका लागि आह्वान गरिएकामा बानियाँले कांग्रेसका ३७ र नेकपा एमालेका २७ गरी ६४ जना सांसदको समर्थन आफूलाई रहेको दाबी पेस गरेका हुन् ।
११० सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५६ सांसदको समर्थन आवश्यक पर्दछ । बानियाँ केहीदिनअघिमात्रै लामालाई हराएर कांग्रेस संसदीय दलको नेता बनेका थिए ।