सञ्चारमन्त्री गुरुङद्वारा मन्त्रिपरिषद् पुनर्गठनको सङ्केत; जापानबाट सिन्धुली सडकका लागि सहयोग स्वीकार
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १५ बिहिबार
790
Shares
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना रहेको सङ्केत गरेका छन्। लामो समयदेखि मन्त्रिपरिषद् हेरफेर नभएको उल्लेख गर्दै उनले सत्तारूढ दलहरू, विशेषगरी नेकपा (एमाले) र नेपाली काँग्रेस बीचको राजनीतिक संयन्त्रमा सहमति जुटेमा पुनर्गठन हुनसक्ने स्पष्ट पारे। यद्यपि, मन्त्री गुरुङले हाल एमाले र काँग्रेसबीच अविश्वासको अवस्था नरहेको पनि बताएका छन्।
मन्त्रिपरिषद् पुनर्गठनबारे मन्त्री गुरुङको भनाइ
बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले भने, "सामान्यतया २-३ महिनामा मन्त्रिपरिषद् पुनर्गठन हुने देशमा हाम्रोमा १३ महिनादेखि भएको छैन। अब होला भनेर सर्वत्र चासो राखिएको छ, यो अस्वाभाविक पनि होइन। सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादनमा प्रश्न उठेको खण्डमा पार्टीभित्र छलफल गरेर हेरफेर गरिनेछ।"
मन्त्रिपरिषद्का मुख्य निर्णयहरू
पत्रकार सम्मेलनमा मन्त्री गुरुङले साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकका महत्त्वपूर्ण निर्णयहरू पनि सार्वजनिक गरे।
सिन्धुली सडक पुनस्र्थापनाका लागि जापानी सहायता: बाढीले क्षतिग्रस्त सिन्धुली सडकको आपत्कालीन पुनस्र्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ।
सार्वजनिक संस्थानका कर्मचारीको पारिश्रमिकमा एकरूपता: राज्यकोषबाट लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थानका पदाधिकारी र कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरूपता कायम गर्ने सम्बन्धमा सुझावसहितको प्रतिवेदन पेस गर्न एक कार्यदल गठन गरिएको छ। पर्वतका रामुप्रसाद डोटेलको संयोजकत्वमा गठित उक्त कार्यदलमा दोलखाका रमेशप्रसाद शिवाकोटी र ललितपुरका चण्डीप्रसाद घिमिरे सदस्य छन्।