arrow

डिप बोरिङ पानीको स्थायी समाधान होइन: कांग्रेस नेता गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १५ बिहिबार
kalyan-gurung.jpg

पाटन (ललितपुर)। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग प्रमुख कल्याण गुरुङले डिप बोरिङ पानीको अभाव पूर्ति गर्ने स्थायी समाधान नभएको बताएका छन्। उनले पानीको अभाव रोक्न दीर्घकालीन स्थायी समाधान खोज्नुपर्नेमा जोड दिए।

हालै वर्षायाममा समेत पानी नपरेका कारण तराईका जिल्लाहरूमा देखिएको पानीको समस्या समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले डिप बोरिङ गर्ने बताएपछि गुरुङले यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले भने, "तराई र पहाडमा पानीको सतह दिनदिनै तल जाँदैछ, डिप बोरिङले पानीको सतह अझै तल लान्छ, जमिन खोक्रो बनाउँछ, जमिन भासिएर थप जोखिम निम्तिने अवस्था आउँछ। डिप बोरिङ पानीको अभाव पूर्ति गर्ने अस्थायी समाधान होला, तर स्थायी समाधान होइन।"

गुरुङले जमिनको क्षयीकरणसँगै पानीको सतह झनै घट्न गई भविष्यमा पानीको अभाव बढ्न सक्ने र मरुभूमिकरण हुनसक्ने जोखिमबारे सचेत गराए। उनले भविष्यमा पानीको सतहलाई माथि उकास्न, पानीको अभाव हुन नदिन र जमिनलाई मरुभूमिकरणको जोखिमबाट जोगाउन वृक्षारोपण अनिवार्य रहेको बताए। "तसर्थ नदी, खोला र खोल्साको दुवै किनारामा तराईमा १०० मिटर र पहाडमा १०० फिट बाँस, नर्कट लगायतका स्थानीय प्रजातिका बोटबिरुवा रोप्नुपर्छ। खोलाको ढुङ्गा बालुवा निकाल्न दिनु हुँदैन," उनले थपे।

उनले नदीको क्षयीकरण रोक्न संघीय सरकारले कडा कानुन बनाएर लागू गराउनुपर्नेमा जोड दिए। गुरुङले यस विषयमा कार्ययोजना बनाएर लागू गर्न र कानुनी प्रबन्ध गर्नका लागि प्रधानमन्त्री, वन तथा वातावरणमन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीलगायतलाई विभागले आफ्नो धारणा प्रस्तुत गर्ने उल्लेख गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ