काठमाडौँ। आज साउन १५ गते, नेपाली समाजमा खीर खाएर मनाइँदैछ। यो वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा खाएजस्तै साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा हो। साउने झरी पर्ने बेलामा दूधमा मरमसला र अन्य सामग्री हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने विश्वास गरिन्छ। यही कारणले गर्दा यस्तो परम्परा बसेको जानकारहरू बताउँछन्।
संस्कृत भाषामा 'पायस' भनिने खीरलाई सात्विक आहारमध्ये उत्तम मानिन्छ। यसलाई पितृकार्य र देवकार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए।
गौतमका अनुसार, "साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ। हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ। धेरै घाँस पाइने बेलामा गाई–भैँसीले पनि धेरै दूध दिन्छन्। दूध धेरै भएपछि इष्टमित्र र चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो। यो स्वास्थ्यका हिसाबले पनि उत्तम मानिएको छ।"
साउन भगवान् शिवको महिना हो। शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ। यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुन सक्ने धर्मशास्त्रविद् गौतमको भनाइ छ, यद्यपि यसको कुनै शास्त्रीय वचन भने नरहेको उनी बताउँछन्। ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृकार्यमा निमन्त्रणा गरिएकालाई पायस अर्थात् खीर खुवाउने चलन अझै कायमै छ।
चामल, साबुदाना, सेवई, मकै, गाजरलगायतका विभिन्न प्रकारका खीर बनाउने गरिन्छ। साबुदानालाई फलफूलकै वर्गमा राखिन्छ। यसैगरी, साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीर पनि बनाएर खाने चलन छ। नेपाली बृहत् शब्दकोशले खीरलाई 'दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्यपदार्थ, पायस, तस्मै' भनी परिभाषित गरेको छ।
नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवालगायतका परिकार बनाएर इष्टमित्र एवं छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ।
राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रूपमा मनाउने गरेको छ।