arrow

गण्डकीमा ८५ प्रतिशत रोपाइँ सम्पन्न, उत्पादन क्षेत्र घट्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १४ बुधबार
ropai-asar-13-khokana-bung.jpeg

गण्डकी। गण्डकी प्रदेशमा हालसम्म ७९ हजार ८३८ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ, जुन यस वर्ष रोपाइँ हुने अनुमानित क्षेत्रफलको करिब ८५ प्रतिशत हो। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार यस वर्ष ९४ हजार १८२ हेक्टरमा रोपाइँ हुने अनुमान गरिएको छ।

जिल्लागत प्रगति र चुनौतीहरू

पछिल्लो आँकडा अनुसार, सबैभन्दा धेरै रोपाइँ बागलुङमा (९५ प्रतिशत) र लमजुङमा (९३.१८ प्रतिशत) भएको छ। अन्य जिल्लाहरूमा कास्कीमा ९०.०१ प्रतिशत, तनहुँमा ८८ प्रतिशत, म्याग्दीमा ८६.०५ प्रतिशत, स्याङ्जामा ८१.८४ प्रतिशत, पर्वतमा ८० प्रतिशत, नवलपुरमा ७८.७० प्रतिशत र गोरखामा ७८.४० प्रतिशत रोपाइँ भएको छ।

निर्देशनालयका कृषि अर्थविज्ञ मनोज पौडेलका अनुसार, आकाशे पानीमा निर्भर हुने क्षेत्रमा रोपाइँ केही ढिला भएको छ। वर्षाले साथ दिएमा आगामी सातासम्ममा अधिकांश क्षेत्रको रोपाइँ सकिने अनुमान गरिएको छ। हिमालपारिका जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धानखेती हुँदै आएको छ।

घट्दो धान उत्पादन क्षेत्र र सम्भावित समाधान

गत वर्ष ९६ हजार ५३ हेक्टरमा धानखेती गरिएकामा यस वर्ष धानखेतीको क्षेत्रफल घटेको छ। घरघडेरीले धानको उब्जाउ क्षेत्र नासिनु र तीव्र सहरीकरणजस्ता कारणले धानखेतीको क्षेत्रफल खुम्चँदै गएको पौडेलले बताए।

उनका अनुसार, क्षेत्रफल घटे पनि सिँचाइ, खेती प्रणालीमा सुधार, रोगकीरा नियन्त्रण, उन्नत बीउ, प्रविधि र मल व्यवस्थापन बेलैमा हुनसके धानको उत्पादकत्व बढाउन सकिन्छ। गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धानखेती गरिन्छ। प्रदेशको ४ लाख ७९ हजार ६१७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्खे र चैते गरी करिब १ लाख हेक्टरमा धानखेती हुने गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ