प्रधानमन्त्री ओलीद्वारा रानी जमरा कुलरिया सिँचाइ र जलविद्युत् आयोजनाको उद्घाटन
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १३ मंगलबार
810
Shares
कैलाली। प्रधानमन्त्री केपी शर्मा ओलीले आज रानी जमरा कुलरिया सिँचाइ आयोजनाको थप सिँचाइ, जलविद्युत् र प्रसारण लाइनको उद्घाटन गरेका छन्। यससँगै नेपालको जलस्रोत र कृषि विकासमा महत्त्वपूर्ण कदम चालिएको छ।
प्रधानमन्त्री ओलीले १४ हजार ३०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने यो आयोजना, साथै ४.७१ मेगावाट जलविद्युत् र सम्बन्धित प्रसारण लाइनको उद्घाटन गरेका हुन्। कैलालीको जानकी गाउँपालिका–९ कटासेस्थित सिँचाइ नहरबाट उत्पादित विद्युत्लाई ३३ केभी प्रसारण लाइनमा जोडिएको छ।
यो राष्ट्रिय गौरवको आयोजनाको दोस्रो चरणका कार्यक्रमहरू सम्पन्न भई अब तेस्रो चरणका कार्यक्रमहरू सुरु भएका छन्। हालसम्म टीकापुर, लम्कीचुहा र जानकी गाउँपालिकामा सिँचाइ सेवा प्रदान गर्दै आएको यस आयोजनाले तेस्रो चरणमा भजनी, जोशीपुर, बर्दगोरिया र घोडाघोडीलगायतका पालिकामा सिँचाइ विस्तार गर्नेछ, जसले कृषि उत्पादनमा वृद्धि ल्याउने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री ओलीले रानी जमरा कुलरिया आयोजनालाई नेपालको जलस्रोत तथा ग्रामीण कृषि क्षेत्रको विकासमा ऐतिहासिक उपलब्धि भएको बताए। उनले यो आयोजनाले नेपालको ग्रामीण जीवनशैली, कृषि उत्पादन, ऊर्जा आत्मनिर्भरता र खाद्य सुरक्षालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री ओलीले १२० वर्षअघि स्थानीय किसानको सामूहिक प्रयास र परम्परागत सीपबाट सुरु भएको यस प्रणालीलाई आधुनिक स्वरूपमा विस्तार गरिएको स्मरण गर्दै स्थानीय सहभागिता र सरकारको समन्वयबाट आजको यो सफलता सम्भव भएको बताए।
उनले अन्य राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरू—सिक्टा, बबई, महाकाली तेस्रो, भेरी–बबई र सुनकोशी–मरिन बहुद्देश्यीय आयोजनाहरूलाई पनि शीघ्र सम्पन्न गर्न सम्बद्ध निकायहरूलाई निर्देशन दिए।