यी हुन् साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु
मन्त्रिपरिषद्का निर्णयहरू: मधेस प्रदेश विपद् संकटग्रस्त, नयाँ विधेयक र वैदेशिक ऋण स्वीकृत [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ८ बिहिबार
614
Shares
काठमाडौँ। २०८२ साउन ७ गते (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत निर्णयहरू सार्वजनिक गर्नुभएको छ।
मधेस प्रदेशमा विपद् संकटग्रस्त क्षेत्र घोषणा
मन्त्रिपरिषद्ले मधेस प्रदेशभर तीन महिना अवधिको लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ। यो निर्णय मधेस प्रदेशमा खानेपानी तथा सिँचाइको चरम अभावलगायतका समस्यालाई मध्यनजर गर्दै आएको हो।
विद्युत पूर्वाधार र वैदेशिक ऋण
बलेफी कोरिडोर १३२ के.भी. प्रसारण लाइन: नेपाल विद्युत प्राधिकरणलाई सिन्धुपाल्चोकको जुगल गाउँपालिका र बाह्रबिसे नगरपालिकामा बलेफी कोरिडोर १३२ के.भी. प्रसारण लाइन आयोजना निर्माणका लागि ९८,७५७ हेक्टर राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति दिइएको छ।
ओपेक फन्डबाट ऋण: विद्युत ट्रान्समिसन तथा वितरण आयोजना कार्यान्वयनका लागि ओपेक फन्ड फर इन्टरनेशनल डेभलपमेन्ट (ओफिड) बाट प्राप्त हुने १०० मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने निर्णय भएको छ।
दाना खोला जलविद्युत आयोजना: लालुपाते हाइड्रोपावर कम्पनी प्रा. लि. लाई मनाङको नासो गाउँपालिकामा रहेको दाना खोला जलविद्युत आयोजना निर्माणका लागि ४.८ हेक्टर राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति दिइएको छ।
नयाँ विधेयक र प्रशासनिक निर्णय
नेपाल स्काउटसम्बन्धी विधेयक: नेपाल स्काउटसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गरिएको छ।
प्रशासकीय भवन निर्माणका लागि जग्गा: रुपन्देहीको मर्चवारी गाउँपालिका र महोत्तरीको औरही नगरपालिकामा प्रशासकीय भवन निर्माणका लागि नेपाल सरकारको नाममा दर्ता रहेको सरकारी जग्गा उपयोग गर्न स्वीकृति दिइएको छ।
रुकुमकोट सदरमुकाम: रुकुम (पूर्वी भाग) जिल्लाको सदरमुकाम सिस्ने गाउँपालिकाको वडा नं. ५ र ६ मा पर्ने रुकुमकोट तोक्ने निर्णय भएको छ।
विभिन्न कार्यक्रममा सहभागिताका लागि स्वीकृति
मन्त्रिपरिषद् बैठकले विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा नेपाली प्रतिनिधिको सहभागिताका लागि स्वीकृति दिएको छ:
कोशी प्रदेश प्रमुख परशुराम खापुङ: २०८२ साउन १८ गते मलेसियामा आयोजना हुने नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको चौथो अधिवेशनमा प्रमुख अतिथिको रूपमा सहभागी हुन स्वीकृति।
सचिव फणीन्द्र गौतम: जापानको टोकियोमा २०८२ भदौ ९ देखि १३ गतेसम्म आयोजना हुने एशिया प्यासिफिक ग्रुप अन मनी लाउण्डरिङमा ७ सदस्यीय प्रतिनिधिमण्डल र चीनको मकाउमा २०८२ भदौ १८ देखि १९ गतेसम्म आयोजना हुने फ्याक्टफ्रिज एप ज्वाइन्ट ग्रुप फस टु फेस मिटिङमा ५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्न स्वीकृति।
सचिव गोविन्दबहादुर कार्की: २०८२ साउन १३ देखि १५ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने केयर फर साउथ एशिया प्रोजेक्ट कम्प्लेसन एण्ड डिस्मिनेशन वर्कशप सम्बन्धी कार्यक्रममा सहभागी हुन स्वीकृति।
सचिव डा. रामप्रसाद घिमिरे: २०८२ साउन १२ र १३ गते जापानको ओसाकामा आयोजना हुने नेपाल दिवस कार्यक्रममा सहभागी हुन स्वीकृति।
अवैतनिक महावाणिज्यदूत लोकमान्य गोल्छा: पोल्याण्ड सरकारबाट प्रदान गरिने अफिसियर क्रस अफ द अर्डर अफ मेरिट पदक ग्रहण गर्न स्वीकृति।