मानव बेचबिखन नियन्त्रणका लागि सक्षम कानुनी संरचना आवश्यक : जनार्दन शर्मा
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ८ बिहिबार
1.8k
Shares
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले बढ्दो मानव बेचबिखन नियन्त्रण गर्नका लागि सक्षम कानुनी संरचना आवश्यक रहेको बताएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो धारणा राखेका हुन्।
सांसद शर्माले प्रविधिको दुरुपयोग गर्दै मानव बेचबिखनलाई सहज बनाउने प्रवृत्ति बढिरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे। उनले मानव तस्करीले नयाँ रूप र प्रविधि अपनाइरहेको उल्लेख गर्दै सोहीअनुसार विधेयकलाई समृद्ध बनाउन जरुरी रहेको बताए।
“अहिले मुख्यतः दुई किसिमले मानव बेचबिखन भइरहेको छ,” उनले भने, “एउटा अवैध तरिकाले सीमापार तथा प्रलोभनमा पारेर वा अनावश्यक आशाहरू देखाएर विदेश पठाउने गरिएको छ। ‘भिजिट भिसा’ प्रकरण यसकै उदाहरण हो। अहिले रोजगारीका लागि खाडी मुलुकमा पुगेका महिलाहरूले ठूलो प्रताडना खेपिरहनुभएको छ।”
उनले नेपाली नागरिकहरू पाइला-पाइलामा बेचिएको अवस्था सुधार गर्नका लागि कानुनलाई बलियो बनाउनुपर्नेमा जोड दिए। सरकारले मानवीय सुरक्षा र गरिमाका लागि प्रभावकारी कानुन निर्माण गरेर प्रविधियुक्त मानव तस्करी नियन्त्रण गर्न ढिलाइ गर्न नहुने उनको भनाइ छ।