स्याङ्जा। गल्याङ नगरपालिका-७ स्थित धार्मिक एवम् पर्यटकीय स्थल केदारनाथसम्म पुग्न पदमार्ग निर्माण गरिएको छ । गल्याङ-८ चिउरीस्थित सुनौली-पोखरा जोड्ने सिद्धार्थ राजमार्गबाट केदारनाथ मन्दिरलाई जोड्ने गरी पदमार्ग निर्माण गरिएको हो ।
अग्लो पहाडमा अवस्थित केदारनाथ मन्दिरसम्म दर्शनार्थीको सहजताका लागि गल्याङ नगरपालिकाले पदमार्ग निर्माण गरेको हो । दर्शनार्थीलाई आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले पदमार्ग निर्माण गरिएको पदमार्ग निर्माण समितिका अध्यक्ष टुकराज पाठकले बताए।
नगरपालिकाले पदमार्ग निर्माण गर्न आर्थिक वर्ष २०८०/८१ मा रु १० लाख र आव २०८१/८२ मा रु दश लाख विनियोजन गरेको उनले बताए ।
विनियोजित बजेटबाट ३ सय ८५ मिटर लामो पदमार्ग निर्माण गरिएको छ । मन्दिरसम्म पुग्न स्टिलको रेलिङ समेत जडान गरिएको छ ।
सुनौली-पोखरा सिद्धार्थ राजमार्गमा यात्रा गर्ने भारतीय पर्यटकलाई समेत यसतर्फ आकर्षित गर्न सकिने उक्त मन्दिरका पुजारी काशीराम सापकोटाले बताए ।
चट्टानै चट्टानले बनेको गुफाजस्तोमा रहेको मन्दिरमा भगवान् शिवको प्रतिमूर्ति देख्न सकिन्छ । प्राकृतिक चट्टानबाट निर्मित शिवको प्रतिमूर्ति, नन्दीलगायतका अन्य थुप्रै आकृति यहाँ देख्न पाइने पुजारी सापकोटाले बताए ।
मन्दिरलाई व्यवस्थित बनाउन २०७२ सालमा महायज्ञ सञ्चालन गरिएको थियो । उक्त महायज्ञबाट सङ्कलित रु दुई करोडबाट मन्दिरमा नयाँ संरचना तथा पूर्वाधार निर्माण गरिएको छ ।
मन्दिरलाई नयाँ स्वरूप दिइएको छ । सिद्धार्थ राजमार्गसँगै जोडिएको आँधीखोलामाथि बनेको अग्लो झोलुङ्गे पुल हुँदै झण्डै १५ मिनेटको पैदल दूरीमा यहाँ पुग्न सकिन्छ । रासस