काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा भेटवार्ता सम्पन्न भएको छ। उनीहरूबीच करिब डेढ घण्टा 'वान टु वान' छलफल भएको हो।
भेटवार्तापछि पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीसँग राष्ट्रिय राजनीतिक विषयवस्तुमाथि छलफल भएको जानकारी दिइन्। उनले भनिन्, “उहाँसँग राष्ट्रिय राजनीतिका विषयमा मात्र कुराकानी भयो, अरू विषय आधिकारिक च्यानलबाट थाहा पाउनुहुनेछ।”
भण्डारीले यसअघि नै आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेको पनि स्पष्ट पारिन्। पूर्वराष्ट्रपति पदको जिम्मेवारीबाट बाहिरिएपछि उनी पहिलोपटक एमाले मुख्यालय च्यासल पुगेकी हुन्। उनलाई एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे र केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले स्वागत गरेका थिए।
पूर्वराष्ट्रपति भण्डारीले यसअघि नै पार्टी राजनीतिमा आउने सार्वजनिक घोषणा गरिसकेकी छन्। यस विषयले एमालेको सचिवालय र पोलिटब्युरो बैठकमा प्रवेश पाएपछि आज नेतृत्वसँग औपचारिक छलफल भएको हो।
एमालेको शनिबार सम्पन्न पोलिटब्युरो बैठकमा भने अधिकांश पोलिटब्युरो सदस्यले पूर्वराष्ट्रपतिजस्तो गरिमामय पदमा रहिसकेका व्यक्तिले पार्टीको सक्रिय राजनीतिमा आउन नहुने विचार व्यक्त गरेका थिए। यो भेटवार्तालाई यसै बहसको निरन्तरताका रूपमा हेरिएको छ।