श्रीलङ्कामाथि नेपालको गोलको वर्षा, देउवाको ह्याट्रिक
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३२ बुधबार
853
Shares
काठमाडौँ । नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–२० महिला च्याम्पियनशिप फुटबलमा श्रीलङ्काविरुद्ध शानदार जित निकालेको छ ।
बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा मंगलबार राति सम्पन्न खेलमा नेपालले श्रीलङ्कालाई ७–० गोलअन्तरले पराजित गरेको हो ।
खेलको निर्धारित समयभन्दा करिब डेढ घण्टा ढिलो शुरू भएको खेलमा नेपालले पहिलो हाफमा पाँच गोल गर्यो भने दोस्रो हाफमा दुई गोल थप्यो ।
नेपालको जितमा मीना देउवाले ह्याट्रिक गरिन् । उनले खेलको आठौँ, ४२औँ र ७०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । साथै पूर्णिमा राईले दुई गोल गरिन् । समीक्षा मगर र सरिता नाथले एक–एक गोल गरे ।
जितसँगै नेपालले ३ खेलबाट ६ अङ्क बटुलेको छ । समान खेलबाट बङ्गलादेशको ९ अङ्क छ । नेपालले पहिलो खेलमा भुटानलाई ६–१ ले पराजित गरेको थियो । दोस्रो खेलमा बङ्गलादेशसँग ३–२ ले पराजित भएको थियो । श्रीलङ्का भने प्रतियोगितामा जितविहीन छ ।
खेलको आठौ मिनेटमै नेपालले अग्रता लियो । नेपालको लागि मीनाले सुरुवाती गोल गरिन् । त्यसपछि खेलको १३औँ मिनेटमा समीक्षाले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् ।
खेलको ४२औँ मिनेटमा मीनाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता बढाइन् । त्यसपछि पूर्णिमा एक्लैले पहिलो हाफमा दुई गोल थपिन् ।
खेलको ७०औँ मिनेटमा मीनाले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन् । त्यसपछि दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा सरिताले अर्को गोल थपिन् ।