arrow

काठमाडौँ पूर्ण खोपयुक्त जिल्ला

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३० सोमबार
khop-rubela-dadura.jpg
फाइल तस्बिर

काठमाडौँ । काठमाडौँलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले काठमाडौँलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरेका हुन् ।   

उनले सबै बालबालिकाले पूर्ण खोप लगाएपछि मात्र रोगबाट बच्न सकिने भन्दै पूर्ण खोपयुक्त बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिए । प्रदेश सरकारको ध्यान गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नेतर्फ रहेको भन्दै मन्त्री थापामगरले यसमा सहयोगका लागि सबैलाई आग्रह गरे । 

मन्त्रालयकी सचिव डा सुमित्रा गौतमले वागमती प्रदेशका सबै जिल्ला पूर्ण खोपयुक्त घोषित भएकाले चाँडै नै प्रदेशलाई पूर्ण खोपयुक्त घोषणा गरिने बताए । 

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले हाल रोगव्याधि धेरै भए पनि खोपका कारणले घटेको बताए । 

कार्यक्रममा नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशीला अधिकारीले पूर्ण खोपयुक्त जिल्ला घोषणा गरेर मात्र नहुने भन्दै त्यसलाई दिगो बनाइराख्नुपर्नेमा जोड दिए । 

जिल्ला रेडक्रम सोसाइटीका अध्यक्ष श्याम डोटेलले कोही पनि खोप लगाउनबाट छुट्न नहुने बताए । 

पूर्ण खोपयुक्त घोषणाका लागि नौ प्रकारका खोप दिइने गरिन्छ । बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले ती खोप जन्मदेखि १५ महिनासम्म बालबालिकालाई सात पटकमा १८ मात्रा लगाएको हुनुपर्ने बताए ।

जन्मने बित्तिकै क्षयरोगविरुद्धको बिसिजी खोप र १५ महिना पुगेपछि दादुरा-रुबेला तथा  टाइफाइड रोगविरुद्धको खोप दिने गरिन्छ । 

काठमाडौँमा ६८ हजार १०० जना बालबालिकालाई पूर्ण खोप लगाइएको त्यस अवसरमा जानकारी दिइयो । कार्यक्रममा उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ