समयमा काम नसक्ने निर्माण कम्पनीमाथि कारबाही तीव्र : मन्त्री दाहाल
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३० सोमबार
1.9k
Shares
काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले समयमै काम नसक्ने निर्माण कम्पनी तथा ठेकेदारहरूमाथि कारबाही प्रक्रिया तीव्र पारेको बताएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रममा बोल्दै मन्त्री दाहालले यस्तो जानकारी दिएका हुन्।
मन्त्री दाहालका अनुसार, नेपालमा ’क’ वर्गका ३४८, ’ख’ वर्गका २७१ र ’ग’ वर्गका १,०३१ वटा निर्माण कम्पनी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दर्ता भएका छन्। यसैगरी, ’घ’ वर्गका २२ हजार ५ सय ५१ ठेकेदार कम्पनीहरू स्थानीय तहमा दर्ता भएको जानकारी पनि उनले दिए। यो विवरण निर्माण व्यवसायी महासंघबाट प्राप्त भएको उनले उल्लेख गरे।
मन्त्री दाहालले समयमा काम नसक्ने ठेकेदारहरूको ठेक्का रद्द गर्दै कालोसूचीमा राख्ने काम अहिले धमाधम भइरहेको बताए। उनले भने, "अहिले काम नगर्ने ठेकेदार कम्पनीहरूलाई कालोसूचीमा राख्ने काम धमाधम भइरहेको छ।" यद्यपि, विकासे सबै मन्त्रालयसँग सम्बन्धित भएको कारणले हाल विस्तृत तथ्यांक उपलब्ध गराउन नसकिने उनले स्पष्ट पारे।
मन्त्री दाहालले सडक आयोजना तथा भौतिक पूर्वाधार निर्माणको कामले समेत गति लिएको दाबी गरे। उनले निर्माण सम्पन्न भइसकेका आयोजनाहरूको भुक्तानी फरफारक गर्नका लागि बजेटमा व्यवस्था गरिएको पनि बताएका छन्।