अस्वस्थ्य कुखुराको मासु बेच्नेलाई कारबाही गर्न सांसद राजभण्डारीको माग
हाम्रा कुरा
प्रकाशित २०८२ असार २९ आइतबार
2.4k
Shares
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सपना राजभण्डारीले अस्वस्थ्य कुखुराको मासु र अन्डा बेच्नेलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेकी छिन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै सांसद राजभण्डारीले सहरी क्षेत्रमा बोइलर कुखुराको माग नेपालीहरुको खानपानको प्रमुख हिस्सा बनेको भन्दै यही मासु जनस्वास्थ्यको लागि खतरा बन्दै गएको बताइन् ।
उनले विभिन्न अनुसन्धान र सञ्चारमाध्यमका अनुसार केही कम्पनीहरुले पोल्टिफिल्ड सप्लिमेन्टको नाममा मानव औषधि सोडियम स्यालिसाइलेड र कोलेस्टिनजस्ता औषधिहरु अवैध रुपमा प्रयोग गर्दै आइरहेको बताउँदै यसले स्वास्थ्यमा गम्भीर असर पर्ने जानकारी दिइन् ।
उनले भनिन्, ‘यस्तो औषधि प्रयोग गरेको मासु र अन्डा खाँदा मुटु, मृगौलाजस्ता दीर्घकालीन रोगहरु लाग्ने खतरा रहन्छ ।’
संविधानले भनै नागरिक स्वास्थ्य अधिकारबारे स्पष्ट उल्लेख गरेको जनाउँदै सांसद राजभण्डारीले दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
उनले भनिन्, ‘नेपालको संविधान र उपभोक्ता संरक्षण ऐनले नागरिकहरुलाई स्वास्थ्यमा हानि पुर्याउने बस्तुबाट बच्ने अधिकार दिएको छ तर नियमनकारी निकायहरुको आपसी समन्वयको कमीले यसमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याइरहेको देखिँदैन । यो लापरबाहीले आम उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परिरहेको छ । सभामुख महोदय त्यसैले म यस्ता गतिविधिलाई छानबिन गरी दोषीलाई कारबाही गर्न सभामुख मार्फत सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’