बेलायतको शिक्षापछि नेपालमै काम गर्ने मिरुनाको रहर, सुटिङ सेटमा ’जेन-जी’ को फरक अनुभव
हाम्रा कुरा
प्रकाशित २०८२ असार २९ आइतबार
709
Shares
काठमाडौँ। बेलायतमा हुर्केबढे पनि अभिनेत्री मिरुना मगरले नेपालमै फर्किएर काम गर्ने आफ्नो गहिरो रहर रहेको बताएकी छन्। हालै आयोजित एक अन्तर्वार्तामा उनले आफ्नी आमा नेपाली रङ्गमञ्चसँग जोडिएकाले आफू बाल्यकालमै कलाप्रति आकर्षित भएको जानकारी दिइन्।
“म हङकङमा जन्मिए पनि १२ वर्षसम्म नेपालमा हुर्किएकी हुँ,” मगरले भनिन्, “यद्यपि त्यसपछि बेलायत गएर त्यही शिक्षा लिएँ। तर, मलाई नेपालमै आएर केही काम गर्ने इच्छा थियो। आमा नाटकमा काम गर्ने हुनुभएकाले मैले नेपाल आएर अनुप बरालसँग अभिनयको प्रशिक्षण लिएर चलचित्रमा काम गर्न सुरु गरेकी हुँ।”
बेलायतमा हुर्किएकाले अभिनयसम्बन्धी औपचारिक शिक्षा नलिए पनि काम गर्न सुरु गरेपछि निर्देशक, छायाँकार र कलाकारहरूसँग सिक्ने अवसर पाएको उनले बताइन्।
पछिल्लो समय चलचित्रको छायाङ्कनस्थलमा चलचित्र अध्ययन गरेका विद्यार्थीहरू विभिन्न विभागमा भेटिए पनि अध्ययनको सिकाइ र वास्तविक काम गर्ने शैलीमा कतै तालमेलको अभाव रहेको अभिनेत्री मगरको बुझाइ छ।
“अध्ययन गरेर आउनुभएकाहरू अहिले छायाङ्कनस्थलमा धेरै भेटिनुहुन्छ। तर, हाम्रो अध्ययनको सिकाइ र हामीले काम गर्ने शैली भिन्न हुँदा कतिपय अवस्थामा सहजता नभएको महसुस गरेकी छु,” मगरले भनिन्, “त्यसकारण शिक्षा लिइसकेपछि काम गर्नुअगाडि बुझ्ने मौका पाउनुपर्छ जस्तो मलाई लाग्छ।” उनले चलचित्रका विभिन्न विधाको अध्ययन गरिरहेका विद्यार्थीले छायाङ्कनस्थलमा पुगेर त्यसलाई प्रत्यक्ष हेरेर बुझ्ने वातावरण बन्नुपर्नेमा जोड दिइन्।
मगरले आफूले पर्दामा निर्वाह गर्ने पात्रले एउटा वर्ग र समुदायलाई भिन्न रूपमा प्रस्तुत गरेको बताइन्। “मैले बेलायतमा बाँचेको भन्दा चलचित्रमा बाँचेको जीवन भिन्न छ। यद्यपि म प्रवासमा हुर्किएर शिक्षा लिएता पनि मैले चलचित्रमा निर्वाह गरेका पात्रले लिने निर्णय र उनीहरूको जस्तो विद्रोह गर्न सक्ने क्षमता छैन। सोही कारण पनि मेरा पात्र दर्शकको रोजाइमा परेको हुनसक्छ,” उनले भनिन्।
‘लालपूर्जा’ नामक चलचित्रमार्फत अभिनय यात्राको सुरुआत गरेकी अभिनेत्री मगरले अभिनय गरेका ’कबड्डी ४’, ‘जारी’, ‘ऊनको स्वीटर’ लगायतका चलचित्र नेपालमा व्यावसायिक रूपमा सफल भएका छन्।