arrow

आज आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती

देश तथा विदेशमा विविध कार्यक्रम गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २९ आइतबार
Bhanubhakta_Acharya.jpg.jpeg

काठमाडौँ। नेपाली साहित्यका अमर स्रष्टा तथा आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज नेपाल तथा विश्वभरका नेपाली भाषी समुदायले विभिन्न कार्यक्रम गरी मनाइरहेका छन्। वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तले नेपाली भाषा, साहित्य र संस्कृतिमा अतुलनीय योगदान पुर्‍याएका छन्।

संस्कृत भाषामा रहेको अयोध्याका राजा रामको जीवनीमा आधारित ’रामायण’ लाई नेपाली लोकलयमा भावानुवाद गरेर भानुभक्तले नेपाली समाजमा ठूलो गुन लगाएका छन्। उनको रामायण आज पनि नेपाली घरघरमा सस्वर पाठ गरिन्छ। पृथ्वीनारायण शाहले भौगोलिक रूपमा नेपाललाई एकीकरण गरेझैँ, भानुभक्तले भाषा, साहित्य र संस्कृतिका माध्यमबाट नेपालीहरूलाई भावनात्मक रूपमा जोडेको मानिन्छ।

एक सामान्य घाँसीले दिएको प्रेरणाले भानुभक्तलाई रामायण नेपालीमा रचना गर्न उत्प्रेरित गरेको बताइन्छ। ‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो भने ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ लगायतका फुटकर रचनाहरू पनि उनका महत्त्वपूर्ण कृति हुन्। कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका बेला उनले सरकारी कार्यालयको ढिलासुस्ती र ‘भोलिवाद’ विरुद्ध कवितामार्फत सशक्त आवाज उठाएका थिए, जसको उदाहरण ‘भोलिभोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ भन्ने हरफमा देख्न सकिन्छ।

भानुभक्तको योगदान नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र सांस्कृतिक चेतना जगाउनमा ऐतिहासिक मानिन्छ। समालोचकहरू भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले उनको सम्मान गर्नुपर्ने र उनको विचारका बारेमा उठेका विवादमाथि छलफल तथा समीक्षात्मक कार्यक्रम गर्नु आजको आवश्यकता रहेको बताउँछन्।

त्रिभुवन विश्वविद्यालयमा भानुभक्तबारे थुप्रै शोधग्रन्थ लेखिएका छन्। आज जन्मजयन्तीका अवसरमा काठमाडौँको रानीपोखरीअगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र नगर प्रभातफेरी गर्ने कार्यक्रम रहेको छ। घरघरमा रामायण पाठ गरी भानु जयन्ती मनाउने गरिन्छ भने भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाहरूले विभिन्न कार्यक्रम आयोजना गर्दैछन्।

यद्यपि, भानुभक्तभन्दा अघि पनि नेपाली भाषामा कविता लेख्ने कविहरू भएकाले उनलाई आदिकवि भन्न नमिल्ने तर्क पनि बेलाबेला उठ्ने गरेको छ। तर, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीका अनुसार, रामायणजस्तो ग्रन्थलाई नेपाली लोकलयमा भावानुवाद गरी भाषिक एकतामा महत्त्वपूर्ण योगदान पुर्‍याएकाले भानुभक्तलाई आदिकवि भन्नु न्यायोचित रहेको छ। रामायण ग्रन्थले नेपाली भाषिक क्षेत्रमा नयाँ युग निर्माण गरेको मानिन्छ।

वि.सं. १९२५ असोजमा निधन भएका आदिकवि आचार्यको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाइन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ