arrow

'भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवरका पर्यटकलाई सास्ती, २५ सय बढी काठमाडौँमा अड्किए

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २६ बिहिबार
kailash_man_sarowar.jpg

काठमाडौँ। ’भिसा भेरिफिकेसन’ प्रक्रियामा ढिलाइ र हालै रसुवामा आएको बाढीले सडक अवरुद्ध हुँदा कैलाश मानसरोवर यात्रामा निस्केका पर्यटकहरूले ठूलो सास्ती भोगिरहेका छन्। चिनियाँ दूतावासले भिसा भेरिफिकेसनमा १० दिनभन्दा बढी समय लगाउँदा कम्तीमा २,५०० भन्दा बढी पर्यटक काठमाडौँमा अड्किएका छन्, जसले पर्यटन व्यवसायीहरूलाई समेत मर्का परेको छ।

ओझा होलिडे टुर्स एन्ड ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक रमेश ओझाले ’सिजन’कै बेला भिसा भेरिफिकेसनसम्बन्धी नयाँ नीतिले पर्यटन व्यवसायी मर्कामा परेको बताएका छन्। विगतमा तीन दिनमा हुने भिसा प्रक्रिया हाल १० दिनसम्म लाग्ने र भिसाको सुनिश्चितता नहुँदा काठमाडौँका विभिन्न पाँचतारे होटलमा झन्डै तीन हजार पर्यटक मानसरोवर यात्राको प्रतीक्षामा छन्।

भारतको मुम्बईस्थित लिआजर पोर्टका सञ्चालक नमराज जोशीले ३९ जनाको समूह लिएर १० दिनदेखि काठमाडौँमा भिसा कुरिरहनुपरेको दुःखेसो पोखे। पर्यटकहरू बेखर्ची हुने अवस्थामा पुगेका र कतिपय फर्किनसमेत बाध्य भएका व्यवसायीहरूले बताएका छन्।

व्यवसायीहरूका अनुसार, विदेशीले ल्हासाबाट प्रवेश अनुमति पाएपछि पासपोर्ट दिएको तीन दिनमा भिसा आउने गरेको थियो। तर, अहिले विदेशी आइसकेपछि चिनियाँ दूतावासले भिसा भेरिफिकेसन गर्ने गरेकाले ढिलाइ भएको छ। भिसा विलम्ब हुँदा पाँचदेखि १० रातको बढी रकम होटललाई टुर अपरेटर कम्पनी आफैँले तिर्नुपरेको छ। ’आफ्नो कमिसनभन्दा पनि उल्टै बढी पैसा खर्च भएको र अनावश्यक तनाव र झन्झट पनि बेहोर्नु परिरहेको’ व्यवसायीको गुनासो छ।

कैलाश यात्रा गराउने सोहम जर्नीज प्रालिका प्रबन्ध निर्देशक सूर्य पाठकले ’समयमा भिसा भेरिफिकेसन नहुँदा सबैभन्दा मारमा व्यवसायी परेको’ बताउँदै टुर चलाएर पाउने कमिसनभन्दा बढी खर्च गरेर पर्यटक व्यवस्थापन गर्नुपरेको गुनासो सुनाए। उनले एक सिजनमा तीन हजार पर्यटक पठाउने गरेकोमा यस वर्ष मुस्किलले एक हजार पर्यटक मात्र पुग्ने विश्वास व्यक्त गरे।

भिसा भेरिफिकेसनले कैलाश मानसरोवर यात्रा विलम्ब भइरहेका बेला हालै रसुवामा आएको बाढीले सडकबाटो अवरुद्ध हुँदा पर्यटक थप समस्यामा परेका छन्। धेरैजसो पर्यटक रसुवागढीबाट केरुङ रुट भएर मानसरोवर पुग्ने गरेकाले यो मार्ग अवरुद्ध हुँदा भारतीय पर्यटकलाई गन्तव्यमा पुग्न कठिन भएको छ।

रसुवा नाका पहिरोले अवरुद्ध भएपछि भिसा पाएकाहरूलाई नेपालगञ्ज, हुम्ला हुँदै गन्तव्यमा पुर्‍याउनका लागि पहल भइरहेको व्यवसायीले बताएका छन्। कैलाश मानसरोवरका लागि काठमाडौँबाट नेपालगञ्ज भएर हुम्ला हुँदै र काठमाडौँबाट चीनको ल्हासा भएर पनि पुग्न सकिन्छ। नेपालगञ्ज–सिमिकोट–हिल्सा सबैभन्दा नजिकको रुट मानिन्छ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको यही असार २२ गतेको बैठकमा पनि सांसदहरूले मानसरोवर जाने पर्यटकको प्रवेशाज्ञा (भिसा) प्रक्रिया विलम्ब हुँदा सयौँको सङ्ख्यामा विदेशी नागरिक होटलमा कुरिरहेको भन्दै पर्यटनमन्त्रीको ध्यानाकर्षण गराएका थिए। जवाफमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मानसरोवर जाने पर्यटकहरूका लागि भिसा प्रक्रिया सहजीकरणका लागि परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ दूतावाससँग पहल गर्ने प्रतिबद्धता जनाएका थिए।

नेपाल भएर तिब्बत, मानसरोवर, ल्हासा जाने पर्यटक समग्र पर्यटनको झन्डै २० प्रतिशत रहेको यस क्षेत्रमा कार्यरत कम्पनीहरूले बताउने गरेका छन्। वार्षिक २० देखि २५ हजार पर्यटक मानसरोवर जाने गरेका छन्। जुन २५ देखि जुलाई ९ तारिखसम्म भिसा भेरिफिकेसनका नाममा पर्यटक होटलमै बसिरहनुपरेको र आर्थिक भार नेपाली व्यवसायीमाथि थुप्रिएको गुनासो छ।

कैलाश मानसरोवरका लागि विदेशीले २,५०० देखि ३,००० डलरमा प्याकेज खरिद गरेका हुन्छन्। उनीहरूले २,००० हाराहारी डलर हवाई टिकटमा आफैँ खर्च गर्नुपर्छ। यसरी पाँचदेखि सात हजार डलर विदेशीले मानसरोवर जान खर्च गर्नुपर्छ। मानसरोवर जान भारतीय नागरिकलाई अढाई लाखदेखि तीन लाख रुपैयाँ र गैरआवासीय भारतीय नागरिकलाई कम्तीमा १० लाख रुपैयाँ लाग्ने टुर कम्पनीहरूले जनाएका छन्। कैलाश मानसरोवरमा भारतीय मूलका, तर विश्वका विकसित देशहरू अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलियामा बस्ने गैरआवासीय भारतीयहरू बढिजसो जाने गरेका छन्। एसोसियसन अफ कैलास टुर अपरेटर्स नेपालमा आबद्ध ३० भन्दा बढी कम्पनी छन्। मेदेखि सेप्टेम्बरसम्म करिब पाँच महिना कैलाश मानसरोवर जाने सिजन हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ