रसुवा बाढी: कांग्रेसद्वारा उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सरकारसँग आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ असार २४ मंगलबार
666
Shares
काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेसले रसुवास्थित नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा गए राति आएको बाढीपछि उद्धार र राहत कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै रसुवामा आएको बाढीले गरेको जनधनको क्षतिले सबैलाई दुःखित र गम्भीर बनाएको बताएका छन्।
उक्त घटनामा परी हालसम्म तीन प्रहरीसहित १५ नागरिक बेपत्ता भएको जानकारी प्राप्त भएको उल्लेख गर्दै उनले विपत्तिको समयमा उद्धार कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
वर्षाको सममा हरेक वर्ष बाढी पहिरोको प्रकोप सामना गर्नुपरेको र बेमौसममा पनि गत वर्ष असोज १२ गते गम्भीर विपत्ति व्यहोर्नुपरेको स्मरण गराउँदै कांग्रेसले एकताबद्ध ढङ्गले प्रकोपको सामना व्यवस्थित योजनाका साथ गर्न तीनै तहको सरकारलाई आग्रह गरेको छ। कांग्रेसले नागरिक तहबाट अपनाउनुपर्ने उच्च सतर्कताका लागि पनि सार्वजनिक अपिल गरेको छ।