arrow

नेपाल पेनाल्टीमा स्तब्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २१ शनिबार
nepal-lost-25-7-5.jpg

काठमाडौँ । नेपाल एसियन कप छनोटबाट बाहिरिएको छ । उज्वेकिस्तानमा भएको एएफसी एसियन कप छनोट फुटबलमा उज्वेकिस्तानविरुद्ध पेनाल्टी सुटआउटमा नेपाल ४-२ ले पराजित भएको हो । 

यसअघि निर्धारित समयसम्म ३-३ को बराबरी भएपछि निर्णय पेनाल्टी सुटआउटमा भएको हो । नेपाल र उज्वेकिस्तानबीचको छनोटको निर्धारित समयसम्म यसअघिका दुई खेलकोसमेत जोडेर २०-२० गोलको बराबरी भएपछि पेनाल्टीबाट निर्णय गरिएको हो । 

तर पेनाल्टीमा नेपाल गोल गर्न चुक्यो । कप्तान सावित्रा भण्डारी साम्बा पहिलो प्रहारमा गोल गर्न चुकिन् । ४-२ को अवस्थामा गोलकिपर अञ्जना राना मगर पनि गोल गर्न चुकेपछि नेपाल पराजित भयो । साम्बाको बल साइड पोलमा ठोक्किएर फर्कियो भने अञ्जनाको बल किपरले सजिलै समातिन् ।

नेपालका लागि गीता राना र सविता राना मगरलेमात्र गोल गरे । योसँगै नेपालको एएफसी महिला एसियन कप २०२६ मा छानिने सपना अधुरो भएको छ । 

 यसअघि कप्तान सावित्रा भण्डारी साम्बाले लगातार तीन खेलमा ह्याट्रिक गरेर कीर्तिमान राखिन् । उनले लाओस, श्रीलंका र उज्वेकिस्तानविरुद्ध ह्याट्रिक गर्दै नेपाली फुटबलमा विरलै तोडिने कीर्तिमान बनाएकी छिन् । 

उज्वेकिस्तानविरु नेपाल मध्यान्तरसम्म ३-१ ले पछि परेको अवस्थामा खेलको ७१ औँ र ७३ औँ मिनेटमा साम्बाले गोल गर्दै ३-३ को बराबरी गरेकी थिइन् ।

यसअघि खेलको दोस्रो र ११ औँ मिनेटमा सिल्ली गोल खान पुगेको नेपालले २४ ओँ मिनेटमा सावित्री भण्डारी साम्बाको गोलबाट अन्तर कम गरेको थियो । 

तर ३७ औँ मिनेटमा डी बक्सभित्र नेपाली खेलाडीको ह्याण्ड भएपछि पाएको पेनाल्टीमा उज्वेकिस्तानले ३-१ अग्रता लिएको थियो । 

फाउल बढी खेलेको उज्वेकिस्तान पहिलो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि एक खेलाडीलाई गुमाउन पुग्यो ।  

नेपालले मध्यान्तरपछि फाइदा उठाउन पुग्यो । मध्यान्तरपछि बलमा नेपालले नियन्त्रण लिन सफल भएको थियो । 

 सन् १९८६ देखि अन्तर्राष्ट्रिय फुटबल खेल्न थाले पनि आज मात्र १०२ औँ खेल खेलेको हो । उतारचढावबीच गुज्रिएको नेपाली टिमले अहिलेसम्म कुनै पनि उपाधिसमेत जितेको छैन । 

हुनत नेपालले अन्तिम पटक सन् १९९९ मा महिला एसियन कप खेलेको थियो। त्यतिबेला छनोट खेलेर नभइ सिधै प्रवेश पाएर खेलेकाले खासै मेहनत गर्न परेन । तर छनोट चरण पार गरेर एसिया कप खेल्न पाएको छैन । 

दुवै टिमको खेल लेखाजोखा 
समूह ‘एफ’ को छनोटमा नेपाल, श्रीलंका, लाओस र आयोजक उज्वेकिस्तान रहेका थिए । श्रीलंका र लाओस लगातार  दुई खेल हारेर बाहिरिए । अन्तिम भिडन्तपछि नेपाल बाहिरियो । 

यसअघिको प्रदर्शनलाई हेर्ने हो भने दुवै टिमको समान अंक र समान गोल रहेको थियो । दुवैको ६ अंक र समान १७ गोल थियो । दुवै टिमले गोल खाएका थिएनन् । नेपालले लाओसलाई ९-० ले हराउँदा उज्वेकिस्तानले ७-० ले हरायो । नेपालले श्रीलंकालाई ८-० ले हराउँदा उज्वेकिस्तानले १०-० ले हरायो । 

फिफा वरीयतामा उज्वेकिस्तान नेपालभन्दा धेरै नै माथि छ । उज्वेकिस्तान ५१ औँ स्थानमा रहेको छ भने नेपाल एक सयौँ स्थानमा छ । 

आजको खेलसमेत गरी उज्वेकिस्तानसँग ४ पटक भिडेको छ । नेपाल सबै खेलमा पराजित भएको छ । उज्वेकिस्तानले १४ गोल गर्दा नेपालले ६ गोल मात्र फर्काउन सकेको छ।

सन् २०१९ को नादेज्दा कपमा आपसमा दुईपटक भिडेका थिए । समूह चरणमा २-० ले हारेको नेपालले फाइनलमा ३-२ को हार बेहोरेको थियो । 

फाइनलमा ३-० को पछाडि परेको अवस्थामा सावित्रा भण्डारी ‘साम्बा’ को दुई गोलले नेपाललाई पुनः खेलमा फर्काउने प्रयास गरे पनि नेपालले बराबरी गर्नुअघि नै खेल सकिएको थियो । 

त्यस्तै पहिलो भिडन्त एसियन कपमा सन् १९९९ मा उज्वेकिस्तानले नेपाललाई ६-१ ले हराएको थियो ।

उज्वेकिस्तान छैटौँ पटक एसिया कपमा पुगेको हो । 

नादेज्दा कपको फाइनलमा जसरी साम्बाले दुई गोल गर्दा उज्जेकिस्तान दबाबमा परेको थियो तिनै साम्बा नेपाली टिमकी कप्तान रहेकाले यसपालि पनि दबाबमा राख्न सकिन् । तर पेनाल्टीमा गोल गर्न चुक्दा नेपाल पराजित भयो । 

साम्बाले लाओसविरुद्ध ४ तथा श्रीलंकाविरुद्ध ३ गोल गरेकी थिइन् । उज्वेकिस्तानविरुद्ध पनि ३ गोल गरिन् । साम्बाले अहिलेसम्म खेलेका ६१ खेलमा ६७ गोल गरिसकेकी छिन् । 

 यसअघि दुई खेलमा नेपालको प्रदर्शनः

नेपालले सजिलो प्रतिद्वन्द्वी श्रीलंकालाई ८-० ले हरायो
नेपालले सजिलो प्रतिद्वन्द्वी श्रीलंकालाई बुधबार भएको खेलमा ८-० ले हरायो । 

नेपालका लागि कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक पूरा गरिन् । उनले खेलको २० औं, ४२औं र पहिलो हाफको इन्जुरी समयमा गोल गरेकी थिइन् । उनी आफ्नै कप्तानीको दुई लगातार खेलमा दुई ह्याट्रिक गर्ने खेलाडीमासमेत नाम लेखाउन सफल भएकी छिन् । 

अन्य गोल गर्ने खेलाडीमा गीता रानाले दुई तथा पूजा राना, निशा थोकर र रेखा पौडेलले एक-एक गोल गरे । नेपालले मध्यान्तरअघि र मध्यान्तरपछि समान चार गोल गरेको हो । 

नेपालले अहिलेसम्म श्रीलंकाविरुद्ध खेलेका सबै ११ खेल जितेको छ । 

नेपालको लाओसमाथि फराकिलो जित

पहिलो खेलमा नेपालले शानदार प्रदर्शन गरेको छ । नेपालले आफ्नो सयौँ खेलमा लाओसमाथि नौ गोल गरेको छ । नेपालले एक गोल पनि खाएन । 

खेलमा नेपालले मध्यान्तरसम्म  २-० को अग्रता लिएको थियो भने मध्यान्तरपछि सात गोल गरेको थियो । नेपालका लागि ११ औँ कप्तान बनेकी सावित्रा भण्डारी साम्बा एक्लैले चार गोल गरिन् । 

पहिले पाँच गोल गरेको भने पनि अन्त्यमा अन्तिम गोल भने लाओसका तर्फबाट आत्मघाती भएको निर्णय आएको थियो । जबकि त्यो बल साम्बाले हानेकामा रोक्ने क्रममा लाओसकी खेलाडीको खुट्टामा लागेर गोल भएको थियो । 

त्यस्तै अनिता बस्नेत, अनिता केसी, सरू लिम्बू र रश्मीकुमारी घिसिङले एक एक गोल गरिन् । 

नेपालले लाओससँग पहिलो पटक खेलेको थियो ।

नेपालको अहिलेसम्मको फुटबल

नेपाली फुटबलको विगत राम्रो छैन । खासगरी सरकारले नै महिला फुटबललाई चिन्ने प्रयास गरेन । महिलालाई खेल्न नदिनु नै दुर्भाग्य भयो । यसको उदाहरण त तथ्यांक नै काफी छ । 

अन्तर्राष्ट्रिय खेल खेल्न थालेको ३९ वर्ष भए पनि निरन्तर प्रतियोगिता नखेल्दा सय खेल पुर्याउन करिब चार दशक लागेको हो । नेपालले सन् १९८६ को डिसेम्बर १४ तारिखमा एसियन च्याम्पियनशिपमा हङकङविरुद्ध  खेल्दै अन्तराष्ट्रिय यात्राको शुरूआत गरेको थियो । 

नेपालले १०२ खेल खेल खेल्दा महिला टोलीको सफलता दर भने खासै नराम्रो छैन । नेपालले ४८ जित, १६ बराबरी र ३८ हार बेहोरेको छ । 

पञ्चायती शासनका कारण हो वा बुद्धि नभएका खेलकुदका योजनाकारका कारण हो महिलाले अवसर नै पाएनन् । पुरुष टिमले सन् १९८२ मा अन्तर्राष्ट्रिय खेल शुरू गरेकामा सन् २००३ मै सय खेल पूरा गरेको थियो ।

महिला टिले पहिलो खेल खेलेपछि दोस्रो खेल्न तीन वर्ष र तेस्रो खेल खेल्न त्यसको एक दशक अर्थात् सन् १९९९ मा मात्र  सम्भव भएको थियो ।  त्यतिबेला नेपालले जापान, थाइल्यान्ड, उज्वेकिस्तान र फिलिपिन्ससँग खेल्न पाएको थियो । 

खेल्नकै लागि संघर्ष गरेको नेपाली टिमलाई जितसँग खासै मतलव थिएन । अझ भनौँ जितका लागि खेल्ने अभ्यास त गर्नै पाएको थिएन । सातौँ खेल खेल्न नेपालले फेरि ११ वर्ष कुर्नु पर्यो । 

सन् २०१० मा ११ औँ दक्षिण एसियाली खेलकुद (साग) मार्फत महिला टोलीले पुनरागमन गर्यो । त्यो नै महिला फुटबलको टर्निङ पइन्ट रह्यो । त्यो वर्ष महिला‌ टोलीले ११ औँ साग र महिला साफ च्याम्पियनशिप पनि खेल्यो । दुवै प्रतियोगिताको फाइनलमा पुगेपछि नेपाली महिला टोलीले सम्भावनाको ढोका खोलेको थियो । 

सन् २०१० पछि भने नेपालले लगातार खेलिरहेको छ । यद्यपि दक्षिण एसियामा बढी सीमित हुने गरेको छ । ११ औँ सागयता १२ वटा अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेलिसकेको छ। उपाधि भने अझै हात परेको छैन । 

पहिलो महिला कप्तान रमा सिंह जहिलेदेखि सरकारले महिला फुटबललाई प्राथमिकतामा राख्छ त्यसबेलादेखि नै उपाधिको आशा गर्नुपर्ने बताउँछिन् । उनी सरकार र अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राथमिकतामा महिला फुटबल पर्नै नसकेको बताउँछिन् । 

अहिलेसम्म जति पनि उपलब्धि नेपालले हासिल गरेको छ त्यो सरकार वा एन्फाको नभइ खेलाडीको व्यक्तिगत तहबाट मात्रै सम्भव भएको सिंहको ठहर छ । 

महिला खेलाडीहरू आफ्नै क्षमताका कारणले विदेशमा खेल्न पाएका छन् । फरवार्ड सावित्रा भण्डारी साम्बा र गोलकिपर एन्जिला तुम्बापो सुब्बाले‌ त युरोपेली क्लबमा व्यवसायिक खेल खेलिसकेका छन् । 

साम्बा ११ औँ कप्तान 
महिला‌ टोलीको कप्तानी ११ जनाले मात्र सम्हालेका छन् ।‌ सन् १९८६ मा कप्तानी रमा सिंहले गरेकी थिइन् । त्यसपछि कमला हिराचन, मीरा चौधरी, जमुना गुरुङ, चन्द्रा भण्डारी, अनू लामा, सजना रानामगर, रेनुका नगरकोटी, निरू थापा, एन्जिला तुम्बाप्पो सुब्बा र यसै छनोटदेखि साबित्रा भण्डारी साम्बाले गरेकी छिन् । 

एन्जिला सबैभन्दा बढी ६ वर्ष कप्तानी सम्हाल्न सफल भइन् । सन् २०१९ देखि एन्जिला कप्तान भएकी थिइन् । यसपालि प्रशिक्षक प्याट्रिक डे वाइल्डले अप्रत्याशित रुपले साम्बालाई छाने । साम्बा त्यस्ती कप्तान हुन् जसले पहिलो पटक राष्ट्रिय टिममा आएर कप्तानको जिम्मा पाइन् । 

उनी यसअघि न उमेर समूह र न कुनै क्लबको कप्तानीमा थिइन् । सबैलाई वाइल्डले चकित पारे पनि साम्बा सबैजसो नेपाली फुटबलप्रेमीको प्रिय नाम हो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ