नेपाली महिला फुटबल इतिहास रच्न आतुर, एसिया कपमा पुग्न राति उज्वेकिस्तानसँग भिडन्त [फोटोफिचर]
सोम,
प्रकाशित २०८२ असार २१ शनिबार
781
Shares
तस्बिर – एनएसजेएफ ।
काठमाडौँ । आज नेपाली महिला फुटबल टिमले सुनौलो इतिहास रच्ने मौका पाएको दिन हो । सन् १९८६ देखि अन्तर्राष्ट्रिय फुटबल खेल्न थाले पनि आज मात्र १०२ औँ खेल खेल्दैछ ।
उतारचढावबीच गुज्रिएको नेपाली टिमले अहिलेसम्म कुनै पनि उपाधिसमेत जितेको छैन । तर आजको खेलमा जित हासिल गरे नेपालले इतिहास रच्नेछ । आजको खेल जिते नेपाली फुटबलको स्तर एक कदम अगाडि बढ्नेछ ।
आज एएफसी महिला एसियन कप २०२६ को छनोट चरणको अन्तिम खेलमा नेपालले घरेलु टिम उज्वेकिस्तानसँग खेल्दैछ । तासकन्तमा नेपाली समयअनुसार राति ९:१५ बजे शुरु हुने खेल जित्दा नेपाल सन् २०२६ मा अष्ट्रेलियामा हुने एसियन कप (एसिया कप) मा खेल्न पाउनेछ ।
नेपालका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हुनेछ । हुनत नेपालले अन्तिम पटक सन् १९९९ मा महिला एसियन कप खेलेको थियो। त्यतिबेला छनोट खेलेर नभइ सिधै प्रवेश पाएर खेलेकाले खासै मेहनत गर्न परेन । तर छनोट चरण पार गरेर एसिया कप खेल्न पाएको छैन । यसपालि सुनौलो अवसर छ ।
दुवै टिमको खेल लेखाजोखा
समूह ‘एफ’ को छनोटमा नेपाल, श्रीलंका, लाओस र आयोजक उज्वेकिस्तान रहेका छन् । श्रीलंका र लाओस लगातार दुई खेल हारेर बाहिरिएका छन् । अब एसिया कपमा नेपाल र उज्वेकिस्तानमध्ये एक टिममात्र पुग्नेछ ।
तसर्थ आजको खेलको विजेताले अष्ट्रेलियाको टिकट काट्ने छ ।
हालसम्मको प्रदर्शनलाई हेर्ने हो भने दुवै टिमको समान अंक र समान गोल छ । दुवैको ६ अंक र समान १७ गोल छ । दुवै टिमले गोल खाएका छैनन् । नेपालले लाओसलाई ९-० ले हराउँदा उज्वेकिस्तानले ७-० ले हरायो । नेपालले श्रीलंकालाई ८-० ले हराउँदा उज्वेकिस्तानले १०-० ले हरायो ।
तसर्थ आजको खेलको विजेता नै छानिनेछ । यदि निर्धारित समयको खेल बराबरीमा सकिए पेनाल्टीमार्फत विजेताको टुंगो लाग्नेछ ।
नेपाल जोशिलो भए पनि उज्वेकिस्तान कम छैन । उज्वेकिस्तान घरेलु मैदानमा खेल्दैछ ।
अर्कातर्फ फिफा वरीयतामा उज्वेकिस्तान नेपालभन्दा धेरै नै माथि छ । उज्वेकिस्तान ५१ औँ स्थानमा रहेको छ भने नेपाल एक सयौँ स्थानमा छ ।
नेपालले अहिलेसम्म उज्वेकिस्तानसँग ३ पटक भिडेको छ । नेपाल सबै खेलमा पराजित भएको छ । उज्वेकिस्तानले ११ गोल गर्दा नेपालले ३ गोल मात्र फर्काउन सकेको छ।
सन् २०१९ को नादेज्दा कपमा आपसमा दुईपटक भिडेका थिए । समूह चरणमा २-० ले हारेको नेपालले फाइनलमा ३-२ को हार बेहोरेको थियो ।
फाइनलमा ३-० को पछाडि परेको अवस्थामा सावित्रा भण्डारी ‘साम्बा’ को दुई गोलले नेपाललाई पुनः खेलमा फर्काउने प्रयास गरे पनि नेपालले बराबरी गर्नुअघि नै खेल सकिएको थियो ।
त्यस्तै पहिलो भिडन्त एसियन कपमा सन् १९९९ मा उज्वेकिस्तानले नेपाललाई ६-१ ले हराएको थियो ।
उज्वेकिस्तान पाँच पटक एसिया कप खेलिसकेको छ । नेपाल आजको खेल जितेर एसिया कपमा छनोट चरण पार गरेर पहिलो पटक प्रवेश गर्न चाहन्छ ।
हुनत इतिहास कोर्न कठिन छ । तर मात्र एक क्षणले नै खेललाई कायापलट गर्न सकिन्छ ।
नादेज्दा कपको फाइनलमा जसरी साम्बाले दुई गोल गर्दा उज्जेकिस्तान दबाबमा परेको थियो तिनै साम्बा नेपाली टिमकी कप्तान छिन् ।
उनकै कप्तानीमा नेपालले यो छनोटमा उत्कृष्ट प्रदर्शन गरेको छ । त्यतिमात्र हैन साम्बाले लाओसविरुद्ध ४ तथा श्रीलंकाविरुद्ध ३ गोल गरेकी छिन् ।
आजकै खेलमा अर्को ह्याट्रिक गरेर उनी टिमलाई पहिलो पटक शिखरमा पुर्याउन आतुर छिन् । साम्बाले अहिलेसम्म खेलेका ६० खेलमा ६४ गोल गरिसकेकी छिन् ।
यसअघि दुई खेलमा नेपालको प्रदर्शनः
नेपालले सजिलो प्रतिद्वन्द्वी श्रीलंकालाई ८-० ले हरायो
नेपालले सजिलो प्रतिद्वन्द्वी श्रीलंकालाई बुधबार भएको खेलमा ८-० ले हरायो ।
नेपालका लागि कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक पूरा गरिन् । उनले खेलको २० औं, ४२औं र पहिलो हाफको इन्जुरी समयमा गोल गरेकी थिइन् । उनी आफ्नै कप्तानीको दुई लगातार खेलमा दुई ह्याट्रिक गर्ने खेलाडीमासमेत नाम लेखाउन सफल भएकी छिन् ।
अन्य गोल गर्ने खेलाडीमा गीता रानाले दुई तथा पूजा राना, निशा थोकर र रेखा पौडेलले एक-एक गोल गरे । नेपालले मध्यान्तरअघि र मध्यान्तरपछि समान चार गोल गरेको हो ।
नेपालले अहिलेसम्म श्रीलंकाविरुद्ध खेलेका सबै ११ खेल जितेको छ ।
नेपालको लाओसमाथि फराकिलो जित
पहिलो खेलमा नेपालले शानदार प्रदर्शन गरेको छ । नेपालले आफ्नो सयौँ खेलमा लाओसमाथि नौ गोल गरेको छ । नेपालले एक गोल पनि खाएन ।
खेलमा नेपालले मध्यान्तरसम्म २-० को अग्रता लिएको थियो भने मध्यान्तरपछि सात गोल गरेको थियो । नेपालका लागि ११ औँ कप्तान बनेकी सावित्रा भण्डारी साम्बा एक्लैले चार गोल गरिन् ।
पहिले पाँच गोल गरेको भने पनि अन्त्यमा अन्तिम गोल भने लाओसका तर्फबाट आत्मघाती भएको निर्णय आएको थियो । जबकि त्यो बल साम्बाले हानेकामा रोक्ने क्रममा उज्वेकिस्तानकी खेलाडीको खुट्टामा लागेर गोल भएको थियो ।
त्यस्तै अनिता बस्नेत, अनिता केसी, सरू लिम्बू र रश्मीकुमारी घिसिङले एक एक गोल गरिन् ।
नेपालले लाओससँग पहिलो पटक खेलेको थियो ।
कस्तो छ नेपालको विगत ?
नेपाली फुटबलको विगत राम्रो छैन । खासगरी सरकारले नै महिला फुटबललाई चिन्ने प्रयास गरेन । महिलालाई खेल्न नदिनु नै दुर्भाग्य भयो । यसको उदाहरण त तथ्यांक नै काफी छ ।
अन्तर्राष्ट्रिय खेल खेल्न थालेको ३९ वर्ष भए पनि निरन्तर प्रतियोगिता नखेल्दा सय खेल पुर्याउन करिब चार दशक लागेको हो । नेपालले सन् १९८६ को डिसेम्बर १४ तारिखमा एसियन च्याम्पियनशिपमा हङकङविरुद्ध खेल्दै अन्तराष्ट्रिय यात्राको शुरूआत गरेको थियो ।
नेपालले १०१ खेल खेल खेल्दा महिला टोलीको सफलता दर भने खासै नराम्रो छैन । नेपालले ४८ जित, १६ बराबरी र ३७ हार बेहोरेको छ ।
पञ्चायती शासनका कारण हो वा बुद्धि नभएका खेलकुदका योजनाकारका कारण हो महिलाले अवसर नै पाएनन् । पुरुष टिमले सन् १९८२ मा अन्तर्राष्ट्रिय खेल शुरू गरेकामा सन् २००३ मै सय खेल पूरा गरेको थियो ।
महिला टिले पहिलो खेल खेलेपछि दोस्रो खेल्न तीन वर्ष र तेस्रो खेल खेल्न त्यसको एक दशक अर्थात् सन् १९९९ मा मात्र सम्भव भएको थियो । त्यतिबेला नेपालले जापान, थाइल्यान्ड, उज्वेकिस्तान र फिलिपिन्ससँग खेल्न पाएको थियो ।
खेल्नकै लागि संघर्ष गरेको नेपाली टिमलाई जितसँग खासै मतलव थिएन । अझ भनौँ जितका लागि खेल्ने अभ्यास त गर्नै पाएको थिएन । सातौँ खेल खेल्न नेपालले फेरि ११ वर्ष कुर्नु पर्यो ।
सन् २०१० मा ११ औँ दक्षिण एसियाली खेलकुद (साग) मार्फत महिला टोलीले पुनरागमन गर्यो । त्यो नै महिला फुटबलको टर्निङ पइन्ट रह्यो । त्यो वर्ष महिला टोलीले ११ औँ साग र महिला साफ च्याम्पियनशिप पनि खेल्यो । दुवै प्रतियोगिताको फाइनलमा पुगेपछि नेपाली महिला टोलीले सम्भावनाको ढोका खोलेको थियो ।
सन् २०१० पछि भने नेपालले लगातार खेलिरहेको छ । यद्यपि दक्षिण एसियामा बढी सीमित हुने गरेको छ । ११ औँ सागयता १२ वटा अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेलिसकेको छ। उपाधि भने अझै हात परेको छैन ।
पहिलो महिला कप्तान रमा सिंह जहिलेदेखि सरकारले महिला फुटबललाई प्राथमिकतामा राख्छ त्यसबेलादेखि नै उपाधिको आशा गर्नुपर्ने बताउँछिन् । उनी सरकार र अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राथमिकतामा महिला फुटबल पर्नै नसकेको बताउँछिन् ।
अहिलेसम्म जति पनि उपलब्धि नेपालले हासिल गरेको छ त्यो सरकार वा एन्फाको नभइ खेलाडीको व्यक्तिगत तहबाट मात्रै सम्भव भएको सिंहको ठहर छ ।
महिला खेलाडीहरू आफ्नै क्षमताका कारणले विदेशमा खेल्न पाएका छन् । फरवार्ड सावित्रा भण्डारी साम्बा र गोलकिपर एन्जिला तुम्बापो सुब्बाले त युरोपेली क्लबमा व्यवसायिक खेल खेलिसकेका छन् ।
साम्बा ११ औँ कप्तान
महिला टोलीको कप्तानी ११ जनाले मात्र सम्हालेका छन् । सन् १९८६ मा कप्तानी रमा सिंहले गरेकी थिइन् । त्यसपछि कमला हिराचन, मीरा चौधरी, जमुना गुरुङ, चन्द्रा भण्डारी, अनू लामा, सजना रानामगर, रेनुका नगरकोटी, निरू थापा, एन्जिला तुम्बाप्पो सुब्बा र यसै छनोटदेखि साबित्रा भण्डारी साम्बाले गरेकी छिन् ।
एन्जिला सबैभन्दा बढी ६ वर्ष कप्तानी सम्हाल्न सफल भइन् । सन् २०१९ देखि एन्जिला कप्तान भएकी थिइन् । यसपालि प्रशिक्षक प्याट्रिक डे वाइल्डले अप्रत्याशित रुपले साम्बालाई छाने । साम्बा त्यस्ती कप्तान हुन् जसले पहिलो पटक राष्ट्रिय टिममा आएर कप्तानको जिम्मा पाइन् ।
उनी यसअघि न उमेर समूह र न कुनै क्लबको कप्तानीमा थिइन् । सबैलाई वाइल्डले चकित पारे पनि साम्बा सबैजसो नेपाली फुटबलप्रेमीको प्रिय नाम हो ।