मलेसियामाथि नौ विकेटको जितसहित नेपाल यू–१६ इस्ट जोन कपको फाइनलमा
हाम्रा कुरा
प्रकाशित २०८२ असार १९ बिहिबार
650
Shares
काठमाडौँ । नेपाल मलेसियामा जारी एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । सेमिफाइनलमा आयोजक मलेसियालाई नौ विकेटले हराउँदै नेपाल सहजै फाइनलमा पुगेको हो ।
९१ रनको झिनो चुनौती नेपालले ११.४ भोभरमै १ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि परिमार्जन यादवले ३५ बलमा अविजित रहँदै ५९ तथा श्रीवांश बजगाईंले २२ बलमा अविजित रहँदै २३ रन बनाए।
यसअघि खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्दै मलेसियालाई सस्तैमा समेट्यो । मलेसियाले ४३.१ ओभरमा अलआउट हुँदै ९० रनमात्र बनायो ।
मलेसियाका लागि मोहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाए । नेपालका लागि अभय यादवले १५ रन खर्चेर ४ तथा शुबम खनालले १२ रन खर्चेर ३ विकेट लिए ।
नेपाल समूह विजेता बन्दै मलेसिया अर्को समूहको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । नेपालले फाइनलमा सहज प्रतिद्वन्द्वी सिंगापुरसँग खेल्नेछ ।
अर्को सेमिफाइनलमा सिंगापुरले हङकङलाई ४ विकेटले हरायो । सिंगापुरलाई नेपालले समूह चरणमै हराएको थियो । फाइनल खेल आगामी शनिबार हुनेछ ।
नेपालको समूह चरण
यसअघि नेपालले समूह चरणमा शानदार प्रदर्शन गर्ने क्रममा भुटानमाथि २९८ रनको जितसहित हासिल गरेको थियो । ३५९ रनको चुनौती पछ्याएको भुटान ६० रनमा अलआउट भयो । नेपालका लागि विपिनप्रसाद शर्माले १० ओभरमा ६ मेडन राख्दै ७ रन खर्चेर ४ विकेद्ध लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ३५८ रन बनायो । रौनक श्रीवास्तवले १३२ बलको सामना गर्दै १६८ रन बनाए । उमेर समूहमा यो नै कुनै पनि नेपाली ब्याट्सम्यानको उच्च योगफल हो ।
त्यस्तै इन्डोनेसियालाई नेपालले ३७० रनले हराएको थियो । नेपालले ५ विकेटको क्षतिमा ४२० रन बनाएको थियो । प्रसिद्द जैसीले १३२ तथा रौनक श्रीवास्तवले ८८ रन जोडेका थिए । जवाफमा इन्डोनेसिया विपिनप्रसाद शर्माको ६ विकेटको मद्धतले ५० रनमा अलआउट गर्यो ।
नेपालले जापानलाई ९ विकेटले हराउँदा सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो ।