ललितपुर महानगरपालिका विपद् प्रतिकार्यमा जुट्दै, गत वर्षको बाढीबाट पाठ सिकेको खुलासा
हाम्रा कुरा
प्रकाशित २०८२ असार १७ मंगलबार
787
Shares
ललितपु। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गत वर्ष असोजमा आएको बाढीबाट ठूलो पाठ सिकेको बताउँदै विपद् जोखिम न्यूनीकरण र प्रतिकार्यका लागि आवश्यक तयारी भइरहेको बताएका छन्। मंगलबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जानकारी दिएका हुन्।
मेयर महर्जनले प्राकृतिक विपद्बाट नगरवासीलाई सुरक्षा प्रदान गर्न महानगरपालिकाले सुरक्षाकर्मीहरूलाई तालिम प्रदान गर्ने तथा उपकरण व्यवस्थापनका कामहरू गरिरहेको बताए। यद्यपि, केही उपकरण तथा साधन अझै अभाव रहेकाले त्यसतर्फ पनि काम भइरहेको उनको भनाइ छ।
"गत वर्षको असोजमा गएको बाढीबाट हामीले ठूलो पाठ सिक्यौँ," उनले भने, "यस्ता विपद्बाट नगरवासीहरूलाई सुरक्षा प्रदान गर्नको निमित्त ललितपुर महानगरपालिकाले गर्नुपर्ने धेरै कामहरू बाँकी नै छन् भनेर हामीले लेसन लर्न गर्यौँ।" उनले विपद् व्यवस्थापनको सवालमा मुलुकका ७५३ वटा स्थानीय तहहरूमध्ये ललितपुर महानगरपालिकालाई सबैभन्दा अब्बल मानिए पनि, गत वर्षको विपद्मा प्रतिकार्य गर्न त्यति सफल नभएको स्वीकार गरे। "विपद् कहिल्यै नरोकिने रहेछ। त्यसकारण विपद् प्रतिकार्यको लागि आवश्यक तालिमहरू गरिरहनुपर्ने रहेछ।"
मेयर महर्जनका अनुसार, विपद् व्यवस्थापनमा अब्बल भए पनि आवश्यक पूर्वतयारी गर्न नसक्दा गत वर्षको विपद्को प्रतिकार्य गर्न महानगरपालिका असफल भएको थियो। यस अनुभवबाट पाठ सिक्दै भविष्यमा यस्ता विपद्को सामना गर्न महानगरपालिकाले तयारी तीव्र पारेको छ।