गण्डकी प्रदेशमा २८ प्रतिशत मात्र रोपाइँ, क्षेत्रफल घट्दो क्रममा
हाम्रा कुरा
प्रकाशित २०८२ असार १६ सोमबार
682
Shares
गण्डकी। गण्डकी प्रदेशमा यस वर्ष असार १५ सम्म कुल २८.२० प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार, हालसम्म २६ हजार ५६२ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ। गत वर्षको तुलनामा यो वर्ष रोपाइँको प्रगति कम देखिएको निर्देशनालयले जनाएको छ।
प्रदेशका विभिन्न जिल्लामा रोपाइँको अवस्था फरक-फरक छ। सबैभन्दा बढी बागलुङमा ४५ प्रतिशत र कास्कीमा ४३ प्रतिशत रोपाइँ भएको छ। त्यसैगरी, म्याग्दी र लमजुङमा ३४-३४ प्रतिशत, नवलपुरमा २९ प्रतिशत, पर्वतमा २५ प्रतिशत, तनहुँ र स्याङ्जामा १८-१८ प्रतिशत र गोरखामा १० प्रतिशत रोपाइँ भएको छ।
निर्देशनालयका कृषि अर्थ विज्ञ मनोज पौडेलका अनुसार, कम वर्षा र पानीका मूल नफुटेका कारण अपेक्षित रूपमा रोपाइँ हुन नसकेको हो। उनले भने, "गत वर्षको तुलनामा कम रोपाइँ भएको देखिन्छ। बाह्रैमास सिँचाइ सुविधा भएका ठाउँमा रोपाइँ भइसकेको छ, तर आकाशे पानीमा निर्भर हुनुपर्ने ठाउँमा अपेक्षित रूपमा वर्षा नहुँदा रोपाइँ ढिलो भइरहेको छ।" यद्यपि, वर्षाले साथ दिएमा असार अन्त्यसम्ममा अधिकांश क्षेत्रको रोपाइँ सकिने उनको भनाइ छ।
मुस्ताङ र मनाङबाहेक गण्डकी प्रदेशका नौ जिल्लामा धानखेती हुँदै आएको छ। यस वर्ष ९४ हजार १८२ हेक्टर क्षेत्रफलमा धानखेती हुने अनुमान गरिएको छ, जुन गत वर्ष ९६ हजार ५३ हेक्टर र आव २०७९/८० मा ९७ हजार ७६९ हेक्टर रहेको थियो। यस तथ्यांकले पछिल्लो समय धानखेतीको क्षेत्रफल घट्दै गएको देखाउँछ।
घरघडेरीका नाममा धानको उब्जाउ क्षेत्र नासिनु र तीव्र सहरीकरण जस्ता कारणले धानखेतीको क्षेत्रफल खुम्चँदै गएको पौडेलले बताए। उनले क्षेत्रफल घटेपछि सिँचाइ, खेती प्रणालीमा सुधार, रोगकीरा नियन्त्रण, उन्नत बीउ, प्रविधि र मल व्यवस्थापन बेलैमा हुनसके धानको उत्पादकत्व बढ्ने विश्वास व्यक्त गरे।
गण्डकी प्रदेशको कुल ४ लाख ७९ हजार ६१७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्खे र चैते गरी झण्डै १ लाख हेक्टरमा धानखेती हुने गरेको निर्देशनालयले जनाएको छ। नवलपुर, कास्की, स्याङ्जा र तनहुँजस्ता जिल्लामा धान खेतीको क्षेत्रफल बढी छ। गोरखाको छेपेटार, पालुङटार, आरुघाट, सिरानचोक; लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार; तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट; कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ; पर्वतको फलेबास, जलजला; स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ; म्याग्दीको भगवती, पिप्ले, घतान; बागलुङको बडिगाड, गलकोट, जैमिनी; र नवलपुरको कावासोती, गैँडाकोट लगायतका क्षेत्रहरूलाई धानका पकेट क्षेत्र तोकिएको छ।