काठमाडौँ । नेपाल एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियामा जारी प्रतियोगितामा आइतबार इन्डोनेसियामाथि ३७० रनको विशाल अन्तरसहितको जित निकाल्दै नेपाल एक खेलअघि नै सेमिफाइनलमा पुगेको हो ।
नेपाल लगातार तेस्रो जितसहित सेमिफाइनलमा पुगेको हो । समूह चरणको खेलमा नेपालले यसअघि सिंगापुर र जापानलाई हराएको थियो ।
एक खेलअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरेको नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार भुटानसँग खेल्नेछ ।
नेपाल र इन्डोनेसियाको खेल
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ४२० रन बनायो । नेपालका लागि ओपनर प्रसिद्ध जैसीले ११४ बलमा १५ चौका र १ छक्काको सहयोगमा १३२ रन बनाए ।
ओपनर परिमार्जन यादवले प्रसिद्धसँग पहिलो विकेटका लागि १३२ रनको साझेदारी गर्ने क्रममा २८ बलमा ४ चौका र ८ छक्काको सहयोगमा ७१ रन जोडे ।
रौनक श्रीवास्तवले तेस्रो विकेटका लागि प्रसिद्धसँग १३६ बलमा १४८ रनको साझेदारी गर्ने क्रममा ७१ बलमा ८ चौका र २ छक्काको मद्धतले ८८ रन बनाए ।
पाँचौ विकेटका लागि सुगम बुढाथोकी र जोय थापाबीच ५७ बलमा ७४ रनको साझेदारी हुने क्रममा जोयले ४१ बलमा ७ चौकाको सहयोगमा ५७ रन बनाए । सुगमले ३४ बलमा ३९ रन बनाए ।
जवाफमा इन्डोनेसियाले २४.३ ओभरमा अलआउट हुँदै ५० रनमात्र बनाउन सक्यो । नौ खेलाडीले दोहोरो स्कोर खडा गर्न नसकेको इनिङ्समा कविन निरज चन्दाले १५ तथा दिभित नन्दाले १४ रन बनाए ।
नेपालका लागि कप्तान विपिन शर्माले ७.३ ओभरमा १२ रन खर्चिएर ६ विकेट लिए । शुभम खनाल र सुगम बुढाथोकीले समान १ विकेट लिए ।