पश्चिम नेपालका १२ जिल्लामा भारी वर्षाको उच्च जोखिम, सतर्क रहन विपद् प्राधिकरणको आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ असार १५ आइतबार
731
Shares
काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न १२ जिल्लाहरू आज (आइतबार) र भोलि (सोमबार) भारी वर्षाबाट उच्च जोखिममा रहेको जानकारी दिएको छ। जल तथा मौसम विज्ञान विभागले पश्चिम नेपालका केही क्षेत्रमा अति भारीसम्म वर्षा हुन सक्ने भनी विशेष बुलेटिन जारी गरेसँगै प्राधिकरणले यो चेतावनी दिएको हो।
प्राधिकरणका प्रवक्ता सुरेन सुनारका अनुसार, सुदूरपश्चिम प्रदेशका बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर; कर्णाली प्रदेशका सुर्खेत, दैलेख र सल्यान; तथा लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङ मा भारी वर्षाको उच्च जोखिम रहेको छ। यीबाहेक, अन्य प्रदेशका उच्च पहाडी क्षेत्रका एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।
पछिल्लो २४ घण्टामा प्युठान, डोटी, बागलुङ र कैलालीका केही ठाउँमा भारी वर्षा भइसकेको जल तथा मौसम विज्ञान विभागले उल्लेख गरेको छ। अहिले देशभर बदली रहेको र कतिपय स्थानमा वर्षा भइरहेको पनि विभागले जनाएको छ।
असार १६ गते सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भूभाग, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका भूभागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। साथै, अन्य प्रदेशका पहाडी भागका एक-दुई स्थानमा पनि भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको विभागले पूर्वानुमान गरेको छ।
निरन्तरको वर्षाले बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्क रहन र आवश्यक सुरक्षाका उपायहरू अपनाउन आग्रह गरिएको छ।