नाम मात्रको महानगरपालिका, पानी पर्यो कि सास्ती [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ असार ११ बुधबार
786
Shares
काठमाडौँ । भन्नेहरु भन्छन् काठमाडौँ महानगरपालिकामा सबैथोक छ । नेपालले पाएको सुविधा सबैभन्दा बढी काठमाडौँमै छ । दुःखको कुरा त यो छ कि यो महानगरपालिकाका बासिन्दा महानगरपालिकाको न्यूनतम पूर्वाधारबाटसमेत वञ्चित छन् ।
कुनै न कुनै बहानामा महानगरवासी पीडित छन् । अहिले त सिजन नै मनसुनको हो । त्यसैले हिलाम्मेदेखि विभिन्न परियोजनाका कारण अलपत्र पारेर पानीको निकास सहज नगराइँदा डुबान उत्तिकै छ ।
नेपालमा कुनै पनि आयोजना समय सीमाभित्र सक्नु आश्चर्य जस्तै हुन्छ । कुनै पनि गौरवको आयोजना होस् या स्थानीय सरकारको सानातिना आयोजना समय भित्र नसक्नु यो नेपालको पुरानै रोग हो ।
यस्ता रोगले नेता तथा कार्यकर्ता र निर्माण व्यवसायी मोटाउने र जनताले सास्ती भोग्नु पर्ने परम्परा नै भएको छ ।
अहिले काठमाडौँ महानगरपालिका वडा १६ र २६ का स्थानीय यस्तै सास्ती भोग्न बाध्य भएका छन् । कामपा वडा नं १६ निर्मल लामा मार्गको अमृत स्कूल अगाडिको सडक वर्षौं बित्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन ।
सडक हिलाम्मे भएपछि स्थानीय मिली वडा कार्यालयमा दबाब दिएपछि भने अहिले ग्राबेलिङको काम सुरु गरिएको छ ।
यता वडा नं २६ ले निर्माणको जिम्मा लिएको म्हेपी सडकको अवस्था पनि अहिले हिलाम्मे भएको छ ।
माघ महिनादेखि सो सडकमा ढल व्यवस्थापनको काम सुरु गरी जेठमा ढल व्यवस्थापनको काम सकिए पनि बाँकी काम भने अगाडि बढ्न सकेको छैन ।
सो सडक प्रयोग गरी स्कूल जाने साना विद्यार्थी, अन्य पैदल यात्रु, दुई पाङ्ग्रे सवारी साधन र स्थानीयहरूले हिलाम्मे सडकका कारण दैनिक रूपमा सास्ती भोग्नु परेको छ ।
काठमाडौँ ३२ को पेप्सीकोलामा बर्खाको समयमा सधै समस्या हुने गरेको छ। ठूलो पानी पर्दा बाटोमा खोला नै बग्ने गरेको छ।
त्यसमाथि अहिले बाटो खनेर राखिएको छ । सडकमा ठूलो खाल्डो बनाएर राखिएका कारण सवारीचालक र पैदल यात्रुलाई सास्ती भइरहेको छ।