arrow

भिजिट भिसा प्रकरण

रास्वपाद्वारा भिजिट भिसा छानबिन समिति अस्वीकार [भिडियो] 

शंकरदास वैरागीको नेतृत्वमा गठित छानबिन समितिको निष्पक्षतामाथि गम्भीर प्रश्न

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १० मंगलबार
swarnim-wagle-visit-visa.jpg

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणको अध्ययन र छानबिनका लागि सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समिति अस्वीकार गरेको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले समितिको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएका हुन्।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो। तर, उपसभापति वाग्लेले शंकरदास वैरागीलाई 'सत्ताको सधैँ प्रिय पात्र' र 'आफैँ अनुसन्धानको राडारमा रहेको रहस्यमय पात्र' भएको टिप्पणी गरे।

वाग्लेले भने, "उहाँ स्वयं सक्षम निकायहरूको राडारमा हुनुहुन्छ। त्यस्तो व्यक्तिले कसरी छानबिन गर्ने? ...उहाँ दश वर्षदेखि अस्थायी सत्ताको प्रिय पात्र हुनुहुन्छ। सात वर्ष परराष्ट्र सचिव बन्नुभयो। तीन वर्ष मुख्यसचिव बन्नुभयो। र उहाँको रहस्यमयी ढंगले मुख्यसचिवबाट बहिर्गमन हुन्छ। त्यही बीचमा अर्बौंका टेलिकम घोटालाहरू भएका छन्।"

उनले वैरागी 'निगाहाप्राप्त नेताहरूको गुडबुक्समा रहनुपर्ने र स्वार्थको द्वन्द्वबाट जेलिएका पात्र' भएकोले यो जिम्मेवारी लिनुहुन्न भन्ने आफ्नो पार्टीको मत रहेको स्पष्ट पारे। रास्वपाले समितिका पदाधिकारीहरूको पुनरावलोकन नगरे आफ्नो आन्दोलन जारी रहने चेतावनी पनि दिएको छ।

रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको समेत परोक्ष सहभागिता रहेको आफ्नो पार्टीको निष्कर्ष रहेको उल्लेख गरेको छ। वाग्लेले गृहमन्त्री स्वयं सन्देहको घेरामा रहेको बताउँदै भने, "हाम्रो पार्टीले के निर्णय निकाल्यो भने गृहमन्त्रीको पनि भिजिट भिसा प्रकरणमा परोक्ष संलग्नता देखिसकेको छ। प्रत्यक्ष संरक्षण समेत देखिसकेको छ। अब गृहमन्त्रीले गर्वका साथ भन्नुभयो मेरै प्रस्तावमा यो कमिटी गठन गरेको भन्नुभयो। त्यसकारण यो गलत छ। हामी नयाँ हौँ बेकुफ होइनौँ भनेको त्यसैले हो।"

रास्वपासँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समेत गृहमन्त्रीकै प्रस्तावमा गठन भएको यो समितिले निष्पक्ष छानबिन गर्न नसक्ने जिकिर गरेको छ। यसले भिजिट भिसा प्रकरणको छानबिन प्रक्रियामा थप जटिलता उत्पन्न गरेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ